विचार

कोराना महामारी नियन्त्रणमा कहाँ चुक्यो सरकार ?


कोरानाको औषधी पत्ता नलागे पनि, प्रभावकारी काम गर्न सक्ने खोपको विकास हुन नसके पनि अहिलेसम्म एउटा तथ्य भने पु्ष्टि भएको छ । त्यो पुष्टि भएको तथ्य हो –‘ कोरोना एक व्याक्तिबाट अर्को व्याक्तिमा थुकको माध्यमबाट सर्ने गर्छ, मानिसले बोल्दा करिव तीन फिटको दूरीसम्म थुकका छिटा प्रवाह हुन्छन्, खाना खाँदा , हाँस्दा चार फिटको दूरीसम्म थुुकका छिटा प्रवाहित हुन्छन् । हाछ्युँ गर्दा ६ फिटको दूरीसम्म थुकका छिटा प्रवाह हुन्छन् ।’
यो तथ्यलाई हेर्दा हरेक व्याक्तिले माक्सको प्रयोग गर्ने हो र एक व्याक्तिदेखि अर्को व्याक्तिसम्मको दूरी कम्तिमा ६ फिट कायम गर्ने हो भने कोरोना संक्रमणको जोखिम ९५ प्रतिशत कम हुन्छ ।
यसैगरी कोरोनाको विषयमा पत्ता लागेको अर्को तथ्य हो –‘ कोरोना भाइरस मान्छेको शरीरमा रहन सक्ने भनेको बढीमा २८ दिन हो । त्यसमा पनि अर्को व्याक्तिलाई सार्नसक्ने गरी मानिसको शरीरमा रहने भनेको कम्तिमा १३ दिन हो । ’
यो तथ्यलाई हेर्दा संक्रमित व्याक्ति तथा उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी उनीहरुलाई दुई सातासम्म अरु कसैको सम्पर्कमा आउन नदिई (आइस्योलेशन) मा राख्ने हो भने कोरोना संक्रमणको जोखिम ९५ प्रपतशत कम हुन्छ ।
कोरानाको उद्गम स्थल छिमेकी मित्रराष्ट चीनले यिनै दुई वटा विधि प्रयोग गरेर कोरोना संक्रमणलाई नियन्त्रणमा लिएको हो । बुहान शहरमा पहिलो पटक संक्रमण देखा पर्नासाथ चीनले एक महिनासम्म कसैलाई घरबाट बाहिर निस्कन दिएन । अत्यावश्यक कामका लागि बाहिर निस्कन पर्नेहरुलाई अनिवार्य माक्स लगाउनु पर्ने र कम्तिमा ६ मिटरको दूरी राख्नु पर्ने नियम बनाएर कडाइका साथ पालना गरायो ।
तर चीनले अपनाएका विधिहरु अरु मुलुकले पनि अपनाउन सकेको भए कोराना संक्रमणले यसरी विश्वव्यापी महामारीको रुप लिने थिएन । तर अरु मुलुक चुकेका मात्रै होइन, केही मुलुकहरुले त हदैसम्मको लापरबाही अपनाए । यसरी हदैसम्मको लापरवाही अपनाउनेमा चीनकै छिमेकी मुलुक भारत र नेपाल अग्रपंक्तिमा देखा परे ।
कोरानोको दोस्रो लहर सुरु भएको १५ दिन बित्दा नबित्दै हाम्रो मुलुकमा संक्रमणको दैनिक वृद्धिदर तथा मृत्युदरले पहिलो लहरलाई समेत उछिनेको छ । यो दोस्रो लहरको चपेटामा परेका भिआइपी मध्ये पूर्वराजा ज्ञानेन्द्र शाह र उर्जामन्त्री टोपबहादुर रायमाझी हुन् । पूर्वराजा शाहले भारतको हरिद्धारमा आयोजित कुम्भ मेलामा सहभागी भएर कोराना ग्रहण गरेका हुन् भने उर्जामन्त्री रायमाझीले आफ्नो गृह जिल्लामा आयोजित आमसभामा सहभागी भएर कोरोना ग्रहण गरेका हुन् ।
कोराना संक्रमण वृद्धि हुनुमा मुख्य भूमिका संक्रमित व्याक्तिको पेशा तथा हैसियतले पनि निर्धारण गर्छ । हामी कहाँ नेताको चाकडी गर्न जाने संस्कृतिको विकास भएको छ । आफ्नो पार्टीको नेता कहाँ कार्यकर्ताहरुको भीड हुन्छ । आमसभामा मान्छे ओसारेर भीड जम्मा गर्ने गरिन्छ । त्यस्तो अवस्थामा एक जना नेता संक्रमति छ भने आम जनसमुदायमा कोरोना सर्छ । गत पुस यता नेपाल र भारत दुवै मुलुकमा धेरै आमसभाहरु भए ।
बिरामीको उपचार गर्नु चिकित्सकको पेशा नै हो । यसक्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वभाविक रुपमा संक्रमित हुन्छन् । उनिहरुको वाध्यता हो । संक्रमित चिकित्सक तथा स्वास्थकर्मीको सम्पर्कमा अन्य रोगका जो जो बिरामी पुग्छन् उनीहरु त संक्रमित हुने नै भए बिरामी कुररुवाहरु पनि संक्रमित हुन्छन् । एक जना शिक्षक संक्रमित भयो भने उसले पढाउने विद्यार्थी संक्रमित हुनु स्वभाविकै हो । यसैगरी सेना तथा प्रहरी भित्र सामुहिक बसाई तथा मेसमा खानाखानु पर्ने वाध्यता हुन्छ । यस्तो अवस्थामा एक जना संक्रमित भए भने अन्यलाई पनि सजिलै सर्छ ।

कहाँ चुक्यो सरकार ?
कोराना संक्रणम बृद्धिदर नियन्त्रणमा सरकार पलपलमा चुकेको मात्रै होइन लापरवाहीमै संलग्न भएको देखिन्छ । संक्रमणदर घटेको बेला गरिएका आमसभा तथा राजनीतिक जमघटको कुरा त छाडिदिउँ । गत कात्तिकदेखि चैत सम्म त संक्रमण बृद्धिदर नियन्त्रणमा आएकै थियो । तर दोस्रो लहर सुरु भए यताका क्रियाकलापमा भने सरकार पूर्ण दोषि छ ।
कोरानाको दोस्रो लहर भारतमा सुरु भएको गत फागुन देखि हो । भारतमा भयावह रुप लिइसकेको अवस्थामा त्यो लहर छिटै नेपाल छिर्छ भन्ने कुरामा सरकारले हदैसम्म लापरवाही ग¥यो । खुला सिमाना भएका कारण भारत–नेपालबीच मानिसहरुको अपत जावत रोक्नु कफ्र्यू बाहेक अर्को उपाय छैन । तर कफ्र्यु संभव थिएन । यस्तो अवस्थामा सरकारले ध्यान पु¥याउनु पर्ने भनेको क्वारेन्टाइनको व्यवस्था तथा अवात जावतमा निगरानी नै हो , तर सरकारले वास्तै गरेन ।

संक्रण बोकेर भारतबाट आउनेहरु पहाडका गाउँ गाउँ छिरिसकेका छन् । अझै पनि आउने क्रम जारी छ । अब कोरोना समुदायमा प्रवेश गरिसकेको छ । यस्तो अवस्थामा भिड नियन्त्रण तथा निश्चित सामाजिक दुरी कायम गर्ने शुत्र बाहेक अरु उपाय रहन्न । तर यो माािलमा सरकारले लापरवाही गर्दा राजधानी काठमाडौं उपत्याकामा भयावह अवस्था बन्यो । काठमाडौं उपत्याकामा कोरोनाले भयावह रुप लिनुको मुख्य कारण हो–‘ खोप लगाउने क्रममा भएको कहाली लाग्दो भिडभाड ।’
खासरी चाइनाबाट आएको पहिलो डोजको खोप र भारतबाट आएको दोस्रो डेजको खोप कार्यक्रम अघि बढाउँदा यति ठूलो भीड जम्मा गरियो कि महाशिवरात्रीका बेला पशुपतिनाथ मन्दिर परिसरमा लाग्ने भीड भन्दा कम भएन । बास्तवमा काठमाडौंमा भएको यतिबेलाका महामारी भारतबाट आउने भन्दा पनि यही भिडको उपज हो । दुई हजार मान्छे एउटा लाइनमा बस्नु भनेको त्यसमा १०÷१५ जना संक्रमित हुने निश्चित हो ।
स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नु नागरिकको कर्तव्य र पालना गराउनु सरकारको कर्तव्य हो । सरकारले लाईन लगाएर खोप लगाउने होइन । विभिन्न वडाबाट नाम संकलन गरेर टोकन वितरण गर्न सकिन्थ्यो । पढे–लेखेका मानिसहरुलाई इन्टरनेटमार्फत समय लिएर एउटा केन्द्रमार्फत र अनलाईनबाट टिकट लिन नसक्नेलाई अर्को केन्द्रमार्फत सेवा दिन पनि सकिन्थ्यो ।
तर, समस्या समाधानको प्रयास भएको छैन । यदि, सबै अस्पतालमार्फत खोप लगाउने हो भने भीड स्वत कम हुन्छ । तर, भीडभाड कम गर्नेबारे एक दिन पनि छलफल भएको छैन । सरकारले सम्बन्धित क्षेत्रका विज्ञहरुलाई बोलाएर कसरी मास्कलाई अनिवार्य गर्दा प्रभावकारी हुन्छ, सामाजिक दूरीलाई कसरी कायम गर्दा व्यवहारिक रुपमा सहज हुन्छ भन्ने छलफल गरेमा एउटा निचोडमा पुग्न सकिन्थ्यो, यसतर्फ केही भएको छैन ।
खोप लगाउने नाममा भएको भीड–भाडकै कारण नर्स र डाक्टर संक्रमित भएका समाचार आएका छन् । दुई डोज खोप लगाइसकेका नर्सिङ स्टाफ र डाक्टरहरु संक्रमित हुनु भनेको खतराको संकेत हो । एउटा डाक्टरको रिप्लेसमेन्टमा अर्को डाक्टर त तुरुन्तै ल्याउन सकिँदैन । जसका कारण उपचारका लागि स्वास्थ्यकर्मीको अभाव हुने संकेत देखिइसक्यो ।

अबको लकडाउन

सरकारले अहिले जारी गरेको निशेषज्ञा करिव करिव एक वर्ष अघिको लकडाउन जस्तै हो । फरक के हो भने त्यतिबेला देशव्यापी जारी गरिएको थियो, तर यतिबेला संक्रमणदर उच्च रुपले वृद्धि भएका ठाउँमा मात्रै लागू गरिएको छ । वास्तवमा अहिलेको अवस्था भनेको गत साउनदेखि कात्तिकको अवस्था भन्दा कयौं गुणा भयावह हो । सरकारका अनुसार अहिले नै बिरामीले अस्पताल भरिइसकेका छन् । थप बिरामी राख्ने सम्भावना न्यून छ । अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन । विगतको जस्तो बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ । अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए । कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ । पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन् ।

सबै भन्दा बढी प्रभावित काठमाडौं उपत्याका हो । सरकारले निशेषाज्ञाको मिति सार्वजनिक गरेसँगै पहिलेजस्तै यातायातको साधन अभावले हुने त्रासले काठमाडौं उपत्याकाबाट गाउँघर तिर जानेहरुको धुइरो सुरु भयो । बसमा कोचाकोच गरेर मानिसहरु बहिरिए । लामो दूरीका बसमा समेत सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड नहुँदा यात्रुहरू जोखिम मोलेर घर फर्किन बाध्य भए । अब बस भित्रै संक्रमित हुन्छन् धेरै जसो । उनीहरुले आफ्नो गाउँघरसम्म संक्रमण पु¥याउँछन् । निशेधाज्ञा भनेको कोरोनाको जालो तोड्नका लागि र आवश्यक पुर्वतयारीका लागि हो । तर यहाँ तर नेपाल भारतमा त झन जालो बिस्तार गरिएको छ । यस्तो अवस्थामा जनता आफै सचेत बन्नु पर्छ ।
बिगतमा गरिएको लकडाउनमा जस्तै यस पटक पनि सरकार उदासिन हुने संकेत देखिएको छ । सरकारले विगतको जस्तै रवैया देखायो, सरकारको नीति कार्यन्वयन गराउने सुरक्षाकर्मीहरु विगतको जस्तै निरिह र लापरवाही देखिए भने यस पटक मुलुकले अकल्पनीय क्षति बेहोर्नु पर्ने निश्चित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *