काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डे आज संसद् बैठक बस्न लागेकोमा निकै खुसी छन् । हुन त अरु सांसदहरू पनि खुसी नभएका होइनन् । तर, पाण्डेको कथा बेग्लै छ ।
कांग्रेसले सांसद मनोनीत गरे पनि प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि पाण्डे संसद् टेक्न नै नपाई बिदाइ हुँदै थिए । तर, फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि पाण्डे दंग देखिएका हुन् । सांसद भएपछि उनी आज प्रतिनिधिसभा बैठकमा पहिलोपटक उपस्थित हुँदैछन् ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते राति पोखरामा निधन भएको थियो । कांग्रेसले केसीको निधनका कारण रिक्त रहेको समानुपातिकतर्फको सांसदमा पाण्डेलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो।
पार्टीको जिल्ला कार्यसमिति, महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य हुँदै पार्टीमा सक्रिय भूमिकामा रहेका पाण्डे २०६४ सालको निर्वाचनमा स्याङजा क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
कांग्रेस नेता पाण्डेले संघीय सांसदका रुपमा मंसिर ८ गते पद तथा गोपनीयताको शपथ ग्रहण लिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । तर, त्यसको एक महिनापछि संसद् भंग भयो । संसद् भंग भएपछि पाण्डेलाई ‘अभागी’ सांसद भनेर टिप्पणी गरिएको थियो । उनी ‘अभागी’ हुनबाट बचेर भाग्यमानी सांसद बनेका छन् ।




