काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि मौसममा बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिक देखि समान्य बदली रहेको छ । यो बदली आज दिनभर रहने मौसमविद्ले जनाएको छ ।
आज देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
मौसमविद् निराजन सापकोटाका अनुसार आजदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको छ। उनका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ । अब विस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ ।




