रिबन

कांग्रेसलाई बागमती र प्रदेश १ मा मुख्यमन्त्री दिने दुई नेकपाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले आफूलाई बागमती र प्रदेश नम्बर १ मध्ये एउटामा मुख्यमन्त्री दिन नेकपाका दुवै पक्ष तयार रहेको संकेत दिएको बताएका छन्। प्रचण्ड र माधव नेपाल समूहका एक नेताले पनि आफ्नो पक्षबाट कांग्रेससँग त्यस विषयमा कुरा भएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री केपी ओली पक्षका नेताका अनुसार नेपाली कांग्रेससहितका दलसँग कुराकानी गर्न प्रदेश तहमै निर्देशन दिइएको बताए। नेकपाभित्रैबाट दुई प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आएपछि संकटमा परेको सरकार जोगाउन वा नयाँ बनाउन दुवै पक्षले कांग्रेसको साथ जुटाउनुपर्ने देखिन्छ।

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीका अनुसार केही दिनअघि सभापति शेरबहादुर देउवाले दुवै प्रदेशका केन्द्रीय सदस्य र नेताहरूसँग प्रदेशहरूमा सम्भावित समीकरणबारे परामर्श गरेका थिए। बागमती प्रदेशबारेको छलफलमा सहभागी उनले भने, ‘सभापतिजीले पार्टीको हित र लाभलाई ख्याल गरेर अघि बढ्ने बताउनुभयो। दुवै पक्षले मुख्यमन्त्री दिन तयार रहेको बुझिन्छ।’

पार्टीले प्रधानमन्त्रीको कदमलाई ‘बदनियतपूर्ण, असंसदीय, असंवैधानिक र अलोकतान्त्रिक भनेकोले त्योसँग बाझिनेगरी नजाऔँ’ भन्ने राय धेरैले दिएको उनको भनाइ छ। त्यसको अर्थ प्रचण्ड पक्षसँग सहकार्य राजनीतिक हुने उनीहरूको तर्क हो। ‘तर सभापतिजीले पार्टीको हित कसरी हुन्छ त्यो हेरौँ भन्नुभयो, हामीले पनि ठिक छ पार्टी हित कसरी हुन्छ त्यो पनि सोच्नुहोस् भन्यौँ,’ नेताले जोशीले भने।

कांग्रेस नेत्री पुष्पा भुसालका अनुसार मंगलवारदेखि फेरि सुरु भएको केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक परिस्थितिअन्तर्गत प्रदेश तहको राजनीतिबारे पनि छलफल हुनसक्ने बताइन्। सभापति देउवासँग छलफलमा सहभागी अर्का नेता प्रकाशशरण महतका अनुसार धेरै नेताहरूले पार्टी हित हेर्ने नै भनेको बताए।

‘तर नेकपा अझै एउटै पार्टी छ र एउटालाई हटाएर आफ्नै अर्कोलाई मुख्यमन्त्री प्रस्तावित गरेका मात्र हुन्, त्यसैले कांग्रेस अहिले हौसिन हुन्न,’ नेता प्रकाशशरण महतले भने, ‘परिस्थिति अनुकूल भएमा सार्वजनिक रूपमा र दलीय रूपमा पार्टीको हित हेरेर निर्णय लिने हो।’ बागमती प्रदेश सभामा नेपाली कांग्रेसका २२ जना सदस्य छन् ।

कांग्रेस नेताहरूका अनुसार नेकपाको ओली समूहले बागमती प्रदेश छाडेर प्रदेश १ मा समर्थन खोजिरहेको छ। तर नेता सुवास नेम्वाङले त्यसबारे थाहा नभएको बताए। उनले भने, ‘मुख्यमन्त्री र उहाँहरूकै टीमले प्रदेशमा कांग्रेसलगायत सबैसँग कुरा गर्ने भन्ने छ र उहाँहरूले नै कुरा गरिरहनुभएको छ।’

कांग्रेस नेताहरूका अनुसार प्रचण्ड र माधवकुमार नेपालको समूह भने बागमती लिएर प्रदेश नं १ को मुख्यमन्त्री कांग्रेसलाई दिन तयार देखिएको छ। प्रचण्ड पक्षका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गण्डकी र लुम्बिनी प्रदेशमा पनि मिलेर सरकार बनाउन सकिने भन्दै कांग्रेससँग सल्लाहका लागि प्रस्ताव राखेको जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *