रिबन

नेपाल बारका चार पूर्वअध्यक्षले भने, प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथि नै निर्लज्ज प्रहार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अदालतमा चलिरहेको बहसलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएपछि उनीविरुद्ध मानहानिको मुद्दा चलाउन दबाब बढेको छ । दुई दिनअघि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा गरेको बहसप्रति लक्षित गर्दै ओलीले ‘बाजे वकिललाई लगेर इजलासमा तमासा देखाएको’ भनेका थिए ।

प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिविरुद्ध नेपाल बार एसोसिएसनका चार पूर्वअध्यक्षले आपत्ति जनाउँदै मानहानिको मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।

वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारीबारे प्रधानमन्त्रीको केपी ओलीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै बारका पूर्वअध्यक्षहरूले ‘राजतन्त्रकालमा समेत यस्तो निर्लज्ज प्रहार नगरिएको’ बताएका हुन् ।

उनीहरुले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कानुन व्यवसायीका सबैभन्दा जेष्ठ सदस्यको अपमान र मानमर्दन भएको बताएका हुन् । प्रधानमन्त्रीको अभिव्यक्ति सबै कानुन व्यवसायमाथिकै सत्तापक्षद्वारा निर्लज्ज प्रहार भएको उनीहरुको निष्कर्ष छ । ‘२०१३ सालदेखि संस्थागत स्वरुप ग्रहण गरेको कानुन व्यवसायलाई तमासा देखाएको भनि राजतन्त्रकालमा समेत सत्तापक्षद्वारा यस प्रकारको निर्लज्जप्रहार भएको थिएन,’ विज्ञप्तिमा भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *