नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शक्ति संघर्षले दुनियाँलाई चकित मात्र होइन आजीत बनाएको छ । दोहोरिहने सत्ताउन्मादको गम्भीर रोगले नेकपा मात्र आक्रान्त भएन, नेपालको राजनीति, राजनीतिक प्रणाली तथा संविधानसभाले लामो कसरतबाट बनाएको संविधानसमेत क्षतविक्षत हुने खतरा दिनप्रति दिन बढोत्तरी हुँदै गएको छ । सत्तारुढ दलमा दिनप्रतिदिन समाप्त हुँदै गएको लोकलाजले सीमा नै नाघ्न थालेकोले राजनीतिक दुर्घटनाको सम्भावनालाई निमन्त्रणा नै गरेको अनुमान लगाउन सकिन्छ । चमत्कार गरेर देखाउने घोषणा गर्ने, ओली र दाहाल आफूकेन्द्रित सत्तासंघर्षलाई चमत्कार ठानिरहेका त छैनन भन्ने अहं सवाल यतिबेला चारैतिर उठेको छ । ओलीले राष्ट्रप्रतिलाई समेत गुटको पति बनाउँदा आम मानिसलाई लाज्जाबोध भएको छ ।
व्यक्तिगत सम्बन्ध र दलगत झगडाको प्रतिक्रिया राष्ट्रपति कार्यालयमा प्रतिविम्बित हुनु पद्धतिगत रुपले असफलताको चरम अवस्था हो । अध्यादेश प्रकरणमा मात्र होइन नेकपाको विवादमा साँझ बिहानसमेत राष्ट्रपति सक्रिय देखिनु अमर्यादित घटना हो । कम्युनिष्ट सिद्धान्तबाट दीक्षित व्यक्तिहरुले दलीय र गुटगत स्वार्थका खातिर राज्यका महत्वपूर्ण र संवेदनशील अंगहरुलाई समेत बद्नाम गराउँछन् र दुरुपयोग गर्छन् भन्ने तथ्यलाई नेपालका सिद्धान्तहीन कम्युनिष्टहरुले पनि सिद्ध गरिदिए । अस्वभाविक जीवनशैलीका कारण बद्नाम भएका कम्युनिष्टहरु शासकीय बेइमानीका कारण अझ बढी अविश्वसनीय भएका छन् ।
अहिले सतहमा देखिएका व्यक्तिहरुमध्ये आशा गरिएका ओलीको त यो हविगत छ भने अन्य व्यक्तिहरुले वैकल्पिक नेतृत्वको ठाडस देलान भन्ने सोच्न सकिँदैन । प्रधानमन्त्रीको हैसियतमा ओली नराम्रोसँग असफल भए । शक्तिशाली भनिएको सरकार यसरी असफल हुनु राम्रो होइन । यसले पद्धतिलाई नै क्षति पु¥याउँछ । त्यही भएर नै होला राजावादीहरु सकडमा ताउरमाउर गरिहेका छन् ।
घात, प्रतिघात अन्तरघात, हत्या, हिंसा, पर्वहरुका अनगिन्ती तीता र कटु अनुभव हुँदाहुँदै यसबाट शिक्षा लिएर अगाडि बढ्ने जमर्को नेपाली राजनीतिले गर्न नै सकेन
नेपालको दुर्भाग्य भन्नुपर्छ कि कम्युनिष्टहरु शक्तिका रुपमा देखापर्नु र त्यसलाई लोकतन्त्रको विरुद्ध प्रयोग गर्ने सोच दरबारले बनाउँनु । सर्पलाई दुध पिलाएर हुर्काउनु, बढाउनुको पीडा दरबारले महसुस गर्यो गरेन ? त्यसको पनि मूल्यांकन भएको छैन ।
सरकारमा किन जाने भन्ने अहं प्रश्न गर्ने कम्युनिष्टहरु आफ्नो व्यवहार, चरित्र, आचरण र जीवनशैलीबाट जवाफ दिइरहेका छन् । भ्रष्टाचार र अनियमिततालाई संस्थागत गरी राज्य व्यवस्थालाई असफल र पंगु बनाउन सत्तामा पुग्नु जरुरी हुन्छ भन्ने तस्बिर प्रस्तुत गरेका छन् । जनताको अपेक्षाप्रति सम्पूर्ण रुपले उदासिनता देखाउनु र गुटलाई शक्तिशाली बनाइ पार्टी र सत्ता कब्जा गरिरहनु नै राजनीतिको मूल उद्देश्य हो भन्ने तथ्य स्थापित गर्न ओली–दाहालको शक्तिसंघर्ष उत्कृर्षमा पुगेको छ ।
भागवण्डा बाँडफाँड र लेनदेनकै मुद्दालाई अगाडि सारेर भ्रष्ट, दलाल, विचौलिया र डनहरुलाई अग्रिम मोर्चामा राखेर समृद्धिको याा चलाइएको छ । खाडी मुलुकमा गएर रगत र पसिना बनाएर पठाएको रकमबाट राष्ट्रिय अर्थतन्त्र चलाउने, खाना नपाएर भारतीय श्रम बजारमा गएका लाखौं नागरिकको मतबाट निर्वाचित हुने र राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको खोक्रो भाषण दिने कम्युनिष्टशैली कुन सिद्धान्त र बादबाट अभिप्रेरित छ भन्ने बुझ्न आजकल कुनै कठिनाइ नै छैन । आजको मुलुकको दुर्दशालाई हेर्दा लाग्छ कि सरकार चलाउने पात्र र प्रवृत्ति पूरै यथार्थतासँग अनविज्ञ छ । बाहिर दुनियाँमा के भएको छ भन्ने जानकारी नै छैन । आफ्नो दलभित्रको समस्यामा अल्झिएर राष्ट्रिय दायित्व र जिम्मेवारीबाट विमुख हुने छुट सरकारलाई थिएन ।
तर जनताप्रतिको दायित्व र जिम्मेवारी सरकारले महसुस गरेन । सत्तारोहण आफ्नो भाग्यको फल हो, यसमा अरुले अपेक्षा राख्ने वा उत्तरदायित्वको प्रश्न उठाउने सवाल नै आउँदैन भन्ने झै गरी राज्यका सम्पूर्ण अवयवहरुलाई आफ्नो अनुकूल बन्न बाध्य बनाउने नीति अख्तियार गर्ने काम सरकारले ग¥यो । जसको कारण नेपालले अवलम्बन गरेको शासन व्यवस्था र व्यवस्थाको नेतृत्वकर्ताका बीचमा ठूलो खाडल देखियो । यो समस्या नेपालले लामो समयदेखि नै व्यहोर्दै आएको पनि हो । घात, प्रतिघात अन्तरघात, हत्या, हिंसा, पर्वहरुका अनगिन्ती तीता र कटु अनुभव हुँदाहुँदै यसबाट शिक्षा लिएर अगाडि बढ्ने जमर्को नेपाली राजनीतिले गर्न नै सकेन ।
मुलुकको दुर्दशालाई हेर्दा लाग्छ कि सरकार चलाउने पात्र र प्रवृत्ति पूरै यथार्थतासँग अनविज्ञ छ
नेपालको भौगोलिक अवस्थिति नै यस्ता घटना तथा परिघटनाका लागि जिम्मेवार हो कि शासकीय अक्षमता भन्ने प्रश्न पनि उठ्न सक्छ । इतिहासबाट सिकेर अगाडि बढ्ने देशहरुले ठूला ठूला तरक्की गरेका छन् । तर हामीले दोहो¥याइ रहेका छौं । पछाडि मात्र फर्किने सोच र चिन्तन हाबी भएको छ ।
काम गर्नका लागि प्राप्त जनमत र जनादेशको दुरुपयोग गर्ने क्रमभंग हुन सकेको छैन । शासकहरुको अधिनायकवादी तथा स्वेच्छाचारी सोच, चिन्तन र चाहनामा परिवर्तन आउनै सकेन । भ्रष्टाचार, अनियमितता, नातावाद, चाकरी चाप्लुसीको प्रभाव विस्तार भएर गयो । इमान्दारिता र असफल गुणले समाजमा स्थान नै पाउन छोड्यो ।
जो सबैभन्दा बढी बेइमान र भ्रष्ट छ, उसकै सामाजिक प्रतिष्ठा बढ्न थाल्यो । जसले गर्दा इमान्दारिताको लडाइँ व्यर्थ हुन पुग्यो । दलाल, विचौलिया, भ्रष्ट, डन, ठेकेदार शक्तिशाली र निर्णायक भए । यसले गर्दा राजनीतिप्रतिको आम विश्वास र धारणा नै नकरात्मक चिन्तन पद्धतिको निकास हुँदै गएको छ । यसमा कम्युनिष्टहरु अझ अगाडि देखिए ।




