काठमाडौं । बिहीबार साँझ साढे ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार भेटवार्ता भएपछि बैठक स्थगित भएको हो ।
कार्यकारी अध्यक्ष दाहालले आपत्ति जनाएपछि बैठक स्थगित भएको बताइएको छ ।
सरकारले हालै जारी गरेको विवादित संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा नेकपालगायत प्रतिपक्षी दलले समेत विरोध जनाएपछि प्रधानमन्त्री ओलीले बुधबार फिर्ता लिने बताएका थिए । तर, फिर्ता नहुँदै प्रधानमन्त्री ओलीले आज पुनः बैठक बोलाउने बित्तिकै प्रचण्ड बालुवाटार पुगेका थिए ।




