रिबन

वर्षमान पुन भन्छन्, प्रधानमन्त्री ओलीको अभिव्यक्तिले सँगै बस्न नचाहेको प्रस्ट हुन्छ

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री वर्षमान पुनले पूर्वएमालेका केही साथीहरु सँगै बस्न नचाहेको देखिएको बताएका छन् । १४–१५ वर्षअघिका कुरा कोट्याएर पूर्वमाओवादीलाई एक्ल्याउन चाहेको उनको भनाइ छ ।

शनिबार प्रकाशित कान्तिपुर दैनिकको लामो अन्तर्वार्तामा खासगरी प्रधानमन्त्री केपी ओलीको व्यवहारले पार्टी एकजुट हुने कुरामा शंका उत्पन्न भएको उनले उल्लेख गरेका छन् ।
‘अलि शिष्ट र सौम्य ढंगले प्रस्तुत भए हुन्छ भन्ने हाम्रो पनि आकांक्षा हो । किनभने भावी पुस्तालाई एजुकेट गर्ने कुरा पनि हो । नेकपा बनेको त दुई–अढाई वर्ष भयो । १४–१५ वर्ष पुरानो गिरिजाप्रसाद कोइरालादेखि कम्युनिस्ट पार्टीको गठबन्धन बन्नुभन्दा अघिदेखिका प्रसंग आउनुले के हामी सँगै बस्न नचाहेको हो, अहिले यो बहस भनेको देखाउने मात्रै हो र हामीले खासमा अर्को कुनै गन्तव्य बनाइसक्यौं, अर्को कुनै निष्कर्ष निकालिसक्यौं, त्यहाँ हामी जान्छौं र जानका लागि कस्तो वातावरण बन्छ भन्नेजस्तो देखिन्छ,’ पुनले भनेका छन्, ‘बाहिर एकाध साथीहरूको बहस सुन्दा पनि प्रधानमन्त्रीका केही सल्लाहकारले त मेरो नामै लिएर किताब बाँड्दै हिँड्छ, छाप्दै हिँड्छ, त्यस्तो मान्छेले दोस्रो पुस्ताको नेतृत्व गर्छ भनेको सुन्छु । हामी सक्छौं नि, सकेर आएकै हो । अर्थमन्त्री चलाएको हो, अहिले ऊर्जामन्त्री चलाइरहेको छु, शान्तिमन्त्री चलाएकै हो ।’

उनले आफूहरूलाई होच्याउने र हेप्ने कार्य भएको पनि गुनासो गरेका छन् । ‘त्यत्रो युद्ध, गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका लागि लडेकै हो, त्यसै कसैले टिपेर ल्याएको होइन । साथीभाइले नामै लिएर अपमान गर्ने ढंगले बोलेको सुन्दा लाग्छ, साथीहरू के सँगै बस्न नचाहेको हो ? अब सकिँदैन भन्ने निष्कर्षमा हो ? तर इतिहासको आवश्यकताले पार्टी एकता भएको हो,’ उनले भनेका छन्, ‘दुवै पार्टीले बहुमत शासन, अल्पमतको प्रतिपक्ष, सामाजिक न्यायिकसम्मका कुरा स्वीकार गरिसकेपछि, नेपालमा सामन्तवादविरुद्धको जनवादी क्रान्ति पूरा भयो र अब विकास समृद्धि सुशासनको युगमा प्रवेश गरिसक्यौं भनेर एउटै राजनीतिक वैचारिक ग्राउन्डमा पुगेपछि हामी एक ठाउँमा आएका हौं । तर प्रधानमन्त्रीकै सल्लाहकारहरूले आधा सिट मात्रै आउँछ, अब हारिन्छ, प्रचण्ड आफैं पनि हार्ने भइसकेपछि यहाँ एकता गरेको हो, प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट सक्सेस हुँदैन, एमालेलाई गुटमुटाउँछु भनेर आएको भनेर एकदम गम्भीर प्रकारको आक्षेप आउँदा के त्यस्तो पनि तर्क गर्न सकिन्छ भन्ने त लागेको छ । तत्कालीन माओवादीको स्थानीय तहमा १६ लाख भोट थियो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *