समाचार

मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने


काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । शुक्रवार सभापति शेरवाहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपधारीकारी बैठकले मंसिर २९ गते सोमवार ७७ वटै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले सरकारको अधिनायकवादी चिन्तन,ब्यवहार, अनियमितता, विभिन्न काण्डमा रहेको संलग्नता,प्रतिगमनका आकांक्षाहरु , सबै खाले भ्रष्टाचार र कोरोना महामारी नियन्त्रणमा देखाएको गैरजिम्मेवारी आदि विषयको बारेमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्थानीय तहको निमन्त्रणामा पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गत बुधवार राज्यले गिरफ्तार गरेपछि कांग्रेसले सरकार विरुद्ध कडा रुपमा प्रस्तुत भएको हो । पौडेलको गिरफ्तारीको विरुद्धमा कांग्रेसका भ्रातृ तथा सुभेच्छुक संस्थाहरु आन्दोलित छन ।

यसै गरी बैठकले तत्काल संसद अधिवेशन बोलाउन पनि माग गरेको छ । आन्तरिक विवादको भूमरीमा फसेका प्रधानमन्त्री केपी शर्मा ओली संसद वैठक टार्दै आएका छन ।

वर्तमान कम्युनिष्ट सरकार निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोभिड-१९ को अव्यवस्थापनको पर्यायवाची बनेको कांग्रेसकाे अाराेप छ । निरन्तर रुपमा सरकारलाई खबरदारी गर्दा पनि देशमा यी प्रवृत्तिहरु घट्नुको साटो बढेकाे कांग्रसकाे ठहर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *