काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन खुमलटार दूत पठाउने कार्यलाई तीव्रता दिएका छन् । बिहीबार राति नेकपा महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई उनले सहमतिका लागि खुमलटार पठाएका थिए ।
तर पौडेल र नेम्वाङबाट केही सीप नलागेपछि शुक्रबार सचिवालय सदस्य ईश्वर पोखरेललाई सहमतिका लागि प्रचण्ड निवास खुमलटारमा पठाएका छन् । सहमतिका विभिन्न प्रस्ताव लिएर अहिले प्रचण्डसँग पोखरेलले छलफल गरेका थिए । पोखरेलले साझा प्रस्ताव ल्याउन प्रचण्डलाई सुझाव दिएका थिए ।
प्रचण्डलाई भेटेलगत्तै पोखरेल शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि उनी शीतल निवास पुगेका हुन् ।
१७ गतेको सचिवालय बैठकमा ओलीले उपस्थित नहुने अडान लिएपछि प्रचण्डले तीन दिन सचिवालय सार्दै शनिवारका लागि सचिवालय बैठक बोलाएका छन् । सचिवालय बैठक सर्दा १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक प्रभावित भएको थियो। मंसिर २१ गतेका लागि स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
ओलीले प्रचण्डलाई सचिवालयमा दर्ता भएको प्रस्तावलाई फिर्ता लिएर सहमतिमा आउन आग्रह गरिरहेका छन् । तर प्रचण्ड नेपाल समूहले कमिटी बैठकबाटै विवादको किनारा लाउन अडान राखेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । विहिबार पौडेलले एकताका बाँकी काम सिध्याएर पार्टीको महाधिवेशनतिर लाग्नु पर्ने र पाटीबारे गहन छलफल गरी निष्कर्षमा पुग्नुपर्ने बताएको भएको स्रोतले जानकारी दियो ।




