काठमाडौं । जबजब सत्तारुढ नेकपामा आन्तरिक किचलो उत्कर्षमा पुग्छ, पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादहीनताको अवस्था आउँछ, तबतब राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्ने गर्छ । अरु बेला केही काम नपाएर शीतल निवासमै मस्तले बसिरहने राष्ट्रपतिलाई नेकपाको विवाद उत्कर्षमा पुगेपछि भने छटपटी चल्ने गर्छ । मानौं, उनी नेकपाकै कुनै नेता हुन् ।
राष्ट्रपतिमा उम्मेदवार दिएसँगै उनले राजनीतिक दलको सदस्यतासमेत त्यागेकी थिइन् । तर, अहिले नेकपाकै राजनीतिमा हस्तक्षेप गर्न थालेपछि विद्यामा अझै राजनीतिको मोह देखिएको सर्वसाधारणले अनुमान गरेका छन् । भण्डारी देश र सम्पूर्ण जनताको राष्ट्रपति त बन्न सकिनन् नै, नेकपामै पनि ओली गुटको मात्र राष्ट्रपति बन्न पुगेकी छन् । बारम्बार नेकपाका शीर्ष नेतालाई शीत्ल निवास बोलाउने, यो गर ऊ गर भनेर निर्र्देशन दिने, ओली गुटलाई कसरी बलियो बनाउने भन्नेमै भण्डारीको दोस्रो कार्यकाल पनि सकिन लागेको छ ।
गत मंगलबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अनौपचारिक छलफल गर्ने निर्णय गरेलगत्तै राष्ट्रपति भण्डारीले अध्यक्षद्वय ओली र प्रचण्डसँग बिहीबार भेटवार्ता गरिन् । कतिसम्म भने उनले प्रचण्डलाई विवाद नबढाउन चेतावनी पनि दिएको खुमलटार स्रोतले जनाएको छ ।
शनिबार सचिवालय र आइतबार स्थायी कमिटी बैठक बसेर बहुमतका आधारमा प्रधानमन्त्री ओलीविरुद्ध महत्वपूर्ण निर्णय गर्नसक्ने देखिएपछि राष्ट्रपति छटपटीमा परेकी हुन् । यसपटक ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट हटाउने गरी अभियान अघि बढेको छ । त्यसैले राष्ट्रपति भण्डारीको सक्रियता बढेको हो । संवैधनिक राष्ट्रपति भएर पनि नेकपाको राजनीतिमा सक्रियता देखाएको भन्दै बेलाबेलामा उनको आलोचना हुने गरेको छ ।




