काठमाडौं । नेपाली कांग्रेसले तनहुँमा पार्टी नेता रामचन्द्र पौडेलमाथि गरिएको प्रहरी दमनबारे छलफल गर्ने भएको छ । तनहुँ घटनाबारे छलफलका लागि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले पौडेलमाथि भएको दमनबारे छलफल गर्न शुक्रबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएका हुन् ।
बैठकमा नेता पौडेलमाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुर्व्यवहारलगायत विषयमा छलफल हुनेछ । बुधबार प्रहरीले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई तीन घन्टा नियन्त्रणमा राखेर छाडेको थियो ।
तनहुँको व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल उद्घाटन गर्न पुगको नेता पौडेलको टोलीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेसले विरोध गर्दै देशव्यापी प्रदर्शन तीव्र बनाएको छ । सभापति देउवाले फोनमार्फत प्रधानमन्त्री केपी ओलीसँग पौडेल पक्राउको विषयमा कुराकानी गरेका थिए ।
काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायतको उपस्थितिमा नेता पौडेलले बिहीबार पुल उद्घाटन गरेका थिए । पुल उद्घाटनअघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको थियो।




