काठमाडौं । यतिबेला मुलुकमा नेकपाको एकल सरकार छ । त्यो पनि झन्डै दुई तिहाइ बहुमतको । प्रधानमन्त्री आफैं । गृहमन्त्री आफ्नै पार्टीका नेता । प्रहरी प्रमुख आफैंले रोजेर बनाएका । गुप्तचर निकाय आफैं मातहत । राज्यका सबैं संयन्त्र आफ्नै मुठ्ठीमा । तर, प्रधानमन्त्री केपी ओली बालुवाटारबाट मुस्किलले साढे दुई किलोमिटर धुम्बाराही जान डराएका छन् ।
प्रधानमन्त्री ओली कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुन जान लागेका भने थिएनन् । नेकपाको मुख्यालय धुम्बाराही हो । गत शनिबार बसेको सचिवालय बैठकले पार्टी मुख्यालयमा मंगलबारका लागि बैठक बस्ने मिति तोकेको थियो । सोहीअनुसार सबैजना तयार थिए । तर, एकाएक बालुवाटारबाट सचिवालय सदस्यहरूलाई सूचना पठाइयो, ‘सुरक्षा थ्रेट भएकाले प्रधानमन्त्री धुम्बाराही जान नसक्ने, सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमै बस्नेछ ।’
नेकपा सचिवालयका पाँच सदस्यले एकढिक्का भएर प्रधानमन्त्री ओलीलाई आज जवाफ दिने तयारी गरेका थिए । आफूविरुद्ध सबै एक हुने र त्यसको सन्देश संसारभर फैलिने भनदै प्रधानमन्त्री ओलीको निजी सचिवालयले कपोकल्पित रूपमा ‘सुरक्षा थ्रेट’ को हौवा पिटेको सुरक्षा निकायले अनुमान गरेको छ ।
‘एउटै पार्टीको बलियो सरकार भएका बेला हत्तपत्त प्रधानमन्त्रीलाई नै ‘सुरक्षा थ्रेट’ अहिलेसम्म नेपालमा देखिएको छैन । त्यसमा पनि ओलीलाई कसले दिने ?’ एक प्रहरी अधिकृतले भने । बालुवाटारमै सचिवालय बैठक बस्ने भएपछि त्यहाँको गोपनीयता कायमै रहने र आफू अनुकूल प्रयोग गर्न सकिने विश्वासका साथ ‘सुरक्षा थ्रेट’ को हल्ला चलाइएको नेकपा नेताहरुले बताउन थालेका छन् ।
प्रधानमन्त्री सचिवालयको यस्तो निर्णयले काठमाडौं जो देशकै राजधानी सहर हो, त्यस्तो ठाउँमा सरकार प्रमुख नै असुरक्षित रहेको भन्ने सन्देश गएको सुरक्षा विज्ञहरूको भनाइ छ ।




