काठमाडौं । भारतीय विदेशसचिव फर्केकै भोलिपल्ट चिनियां रक्षामन्त्री वेई फङ्गह आइतबार नेपाल आएका छन् । परराष्ट्रस्रोतकाअनुसार चिनियाँ रक्षामन्त्री वेईको अहिले बिहान १० बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट सिधै त्यहाँबाट सोझै बालुवाटारस्थित चिनियाँ दूतावास गएका छन् ।
उनी त्यहाँ चिनियां दूतावासले आयोजना गरेको द्धिदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा उनि सहभागी भएका छन् । त्यसपछि उनले आजै सैनिक मुख्यालय पुगेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पहिलो भेटवार्ता गर्नेछन् । नेपाली सेनाले उनको भ्रमणको तयारीको लागी चीनबाट नेशनल डिफेन्स कोर्स गरेका उपरथी बालकृष्ण कार्कीलाई खटाइसकेको छ ।
चिनियां रक्षामन्त्रीले नेपाली सेनालाई सैनिक सामाग्री समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उनले सेनालाई आवश्यक पर्ने सैनिक सहयोगको घोषणा गर्ने तयारी चिनियाँ पक्षको छ । त्यसका साथै दुवै देशका सेनाबीच यसअघि हुंदै आएको र अहिले रोकिएको सगरमाथा फ्रेण्डसिप सैन्य अभ्यासलाई सुचारु गर्ने विषयमा रक्षा मन्त्रीले नेपाली सेनासँग छलफल गर्ने स्रोतको दावी छ ।
तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेलले सन् २०१९ को अक्टोबरमा चीनको भ्रमण गरेका थिए । उनको भ्रमणका बेला १ सय ५० मिलियन चिनियां आरएमबी बराबरको सैन्य सहयोग नेपाली सेनालाई दिने सहमतिमा हस्ताक्षर समेत भएको थियो । त्यसपछि गत जुलाईमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको समेत चीन भ्रमण भएको थियो । त्यसैको निरन्तरतास्वरुप चीनबाट उच्चस्तरको भ्रमण भएको हो । तत्कालिन रक्षामन्त्री पोखरेलले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
चीनले कोभिड १९ को बेला नेपाली सेनालाई केही सहयोग सामाग्री हस्तान्तरण गरेको थियो । यो भ्रमणमा बाँकी सहयोगलाई अघि बढाउने विषयमा नेपाली सेनाले चिनियाँ रक्षामन्त्रीसंग छलफल गर्नेछ । त्यसका साथै कोभिड १९ को कारण अवरुद्ध तालिम र अन्य सैनिक सहयोगलाई सुचारु गर्ने विषय समेत प्रधानसेनापति थापाले भेटमा उठाउनेछन् । कोभिडको कारण नेपाली सेनाका अधिकृत चीन जान र चिनियां जनमुक्ति सेनाका अधिकृतहरु नेपाल आउने क्रम रोकिएको छ ।
चिनियाँ रक्षामन्त्री वेइ एक दिने भ्रमणको लागी नेपाल आएका हुन् । उनले नेपाल भ्रमणको क्रममा प्रधानसेनापति थापासँगै राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गर्नेछन् । दिउंसो दुई बजेपछि मात्र चिनियां रक्षामन्त्री वेइको औपचारिक भेटघाट सुरु हुनेछ । उनी राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र प्रधानसेनापति थापालाई भेटेपछि सोझै विमानस्थल जाने कार्यक्रम छ । त्यहाँबाट वेई बंगलादेश र त्यसपछि पाकिस्तान भ्रमणमा जानेछन् ।
उनको भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयका साथै द्धिपक्षिय हितका विषयमा छलफल हुनेछ । चिनियां राष्ट्रपति सी चिनफिंगले गत वर्षको अक्टोबर १२–१३ मा नेपालको भ्रमण गरेका थिए । त्यसयता चीनबाट उच्चस्तरीय भ्रमण भएको छैन् । चीनको स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपाल आउने पहिलो उच्च चिनियां अधिकारी हुन् । उनि चिनियां राष्ट्रपतिका विश्वासिला नेता हुनुका साथै पहिलो नम्बरका स्टेट काउन्सिलर समेत हुन् ।
यसअघि चिनियां जनमुक्ति सेनाको रकेट फोर्स कमाण्डर रहेका उनि केन्द्रीय सैन्य आयोगका पहिलो नम्बरमा सदस्य हुन् । उक्त आयोगको चिनियां राष्ट्रपति सी अध्यक्ष छन् । त्यसअघि वेइ चिनियां जनमुक्ति सेनाको डेपुटी चिफ अफ स्टाफको जिम्मेवारीमा थिए ।




