काठमाडौं । भारतीय विदेश सचिव हर्षबद्र्धन श्रींगलाले नेपाल र भारत निकटतम मित्र भएको बताउँदै सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै श्रींगलाले आफू पहिला पनि काठमाडौं आएको तर विदेश सचिवका रूपमा यो नै पहिलोपटक भएको बताए ।
विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौडेलले स्वाग गरेपछि श्रींगलाले नेपालीमै बोलेका थिए। उनले नेपाल भारत सम्बन्ध निकै बलियो भएको कुरामा पनि जोड दिए। ‘हाम्रो सम्बन्ध निकै मजबुद् छ। हाम्रा प्रयासले हाम्रो सम्बन्धलाई अझ कसरी अगाडि लैजान्छौं भन्ने देखाउनेछन्। मलाई देखाउनुभएको न्यानो सत्कारका लागि नेपाल र सरकार र परराष्ट्र सचिवलाई धन्यवाद,’ उनले भने, ‘हामी केही महत्वपूर्ण बैठकमा बस्दैछौं। हेरौं तिनले कस्तो काम गर्छन्।’
श्रींगलाले आज सबैभन्दा पहिले विदेश सचिवस्तरीय बैठक बस्ने र त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटवार्ता रहेको बताए । शुक्रबार नेपाल भारत सम्बन्धबारे भर्चुअल मिटिङलाई सम्बोधन गरेपछि आफू गोरखा र मनाङ जाने उनले जानकारी दिए । ‘भोलि म गोरखा जान्छु । गोरखामा प्रधानमन्त्री नरेन्द्र मोदीको ५० हजार घर बनाउने योजना छ, अहिलेसम्म ३० हजार घर बनिसकेका छन्, त्यसको अवलोकन गर्छु,’ उनले भने ।




