काठमाडौं । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई पदत्याग गर्न सुझाएका छन् । आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगतसमेतको भ्रष्टाचारसम्बन्धी संगीन आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुने उनको सुझाव छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले नामै किटेर प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारको संरक्षक भएको उल्लेख गरेको र आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत आफ्नो प्रतिवेदनमा ओलीलाई भ्रष्टाचारको संरक्षक भएको आरोप लगाएको अवस्थामा बाबुरामले ओलीलाई पदत्याग गरी प्रायश्चित गर्न सुझाव दिएका हुन् ।
बाबुरामले बिहीबार बिहान सामाजिक सञ्जालमा शासकीय सुधार नगरी भ्रष्टाचार नरोकिने पनि स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओलीमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगतसमेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ।अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न है । १, शासकीय स्वरूप २. निर्वाचन प्रणाली ३. जनलोकपाल ४. आर्थिक विकास।’




