काठमाडौं । नेकपाभित्र आन्तरिक विवाद चर्कदै गएपछि सबै प्रदेशका मुख्यमन्त्री संघीय राजधानी काठमाडौं आउने थालेका छन् । सरकारले आगामी बुधबार मुख्यमन्त्रीहरूको भेला आयोजना गरेका कारण पनि उनीहरूको काठमाडौं आगमन भएको बताइन्छ ।
कोटेश्वरस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गबीच लामै छलफल भएको थियो ।
उनीहरुको छलफल चलिरहँदा यता बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ्गसँग भेटघाट भएको थियो । त्यसपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवासतर्फ गएका थिए ।
शीतल निवासबाट फर्केपछि बालुवाटारमा प्रधानमन्त्रीले महासचिव विष्णु पौडेल, नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र शंकर पोखरेलसँग छलफल गरेका थिए ।
साँझ फेरि बालुवाटारमा नेम्वाङ्ग,उप प्रधानमन्त्री ईश्वर पोखरेल,प्रदीप ज्ञवाली र शंकर पोखरेलहरूसँग पनि प्रधानमन्त्रीले अबेरसम्म छलफल भएको थियो ।
खुमलटारमा दुर्इ दिनयता पनि दिनभरि भेटवार्ताको क्रम चलिरहेको छ । खुमलटारमा सबैभन्दा पहिले मातृका यादवले र त्यसपछि जनार्दन शर्मा अनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेटेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल भने स्वास्थ्यको कारण देखाउँदै उनी काठमाडौ आएका छैनन् । दशैंअघि नै कोरोना संक्रमित भएर थप उपचारको लागि हेलिकोप्टरमा काठमाडौं ल्याइए पनि झण्डै डेढ महिनादेखि राजनीतिक वृत्तमा उनी हराएका छन् ।




