राजनीति

यस्तो छ ओलीले कांग्रेससँग सहकार्य गर्न खोज्नुको अर्थ

काठमाडौं । शनिबार हिन्दुहरूको महान पर्व छठ पर्व समापन हुँदै थियो । सार्वजनिक बिदा पनि भएकाले सबै आ–आफ्नै घरमा थिए । तर, प्रधानमन्त्री केपी ओलीको मन अशान्त थियो । उनी सधैंझै बालुवाटारमा बस्न सकेनन् । र, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर उनको निवास बुढानिलकण्ठ पुगे ।

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटघाट र छलफल हुनु सामान्य विषय हो । तर, नेकपा फुटको संघारमा रहेका बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली किन बुढानिलकण्ठ पुगे भन्ने विषयले अहिले नेपाली राजनीति तताएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई साथमा लिएर ओली देउवालाई भेट्न जानुको अर्थ सामान्य भने होइन । बुढानिलकण्ठमा भेट भएको विषयलाई अहिलेसम्म गोप्य राखिनु र ओलीले देउवालाई सत्ता सहयात्राका लागि प्रस्ताव गरेको भन्ने विषयले अहिले आमकांग्रेसी आश्चर्यमा परेका छन् ।

ओली नेपाली राजनीतिका चतुर खेलाडी हुन् । माओवादी केन्द्रलाई एमालेमा मिलाएर माओवादीको अस्तित्व नै समाप्त पारिदिएपछि अहिले उनलाई पार्टीमै घेराबन्दीमा पारिएको छ । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पाँच भाइ मिलेर घेराबन्दीमा पारिएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार राससलाई दिएको अन्तर्वार्तामा सार्वजनिक गरिसकेका छन् ।

यदि नेकपा फुट्ने वा आफूमाथि अविश्वासको प्रस्ताव आएमा कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न ओली देउवा निवास पुगेको विश्लेषण गर्न थालिएको छ । तीन वर्षअघि भएको निर्वाचनपछि ओली माओवादी केन्द्रलाई अलग्गै राखेर कांग्रेससँग सहकार्य गरेर पाँच वर्ष सरकार चलाउने मनस्थितिमा थिए । उनले आफू निकट नेताहरुसँग पनि छलफल गरिसकेका थिए । तर, ‘वाम एकता’ मा धोका हुने भन्दै पार्टीकै नेताहरुले दबाब दिएपछि उनी माओवादीसहितको सरकार बनाउन राजी भएका हुन् । र, पछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरी नेकपा गठन गरिएको हो ।

अहिले पूर्वएमाले र पूर्वमाओवादी आ–आफ्नो कित्तामा उभिसकेका छन् । त्यसैले जुनसुकै बेला आफ्नो कुर्सी जान सक्ने भय ओलीमा देखिएको छ । पार्टीमा अविश्वासको प्रस्ताव नै आए पनि कांग्रेससँगको सहकार्यमा त्यसलाई असफल बनाउने र चुनावी सरकारको नेतृत्व कांग्रेसलाई दिने मनस्थितिमा प्रधानमन्त्री ओली पुगेको र सोही प्रस्ताव शनिबारको भेटघाटमा ओलीले राखेको कांग्रेस उच्च स्रोतको दाबी छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्ध निकै तिक्ततापूर्ण भएकाले पनि ओलीले कांग्रेससँग सहकार्य गर्न चाहेको बताइएको छ । साथै, धेरै समयदेखि रिक्त संवैधानिक अंगमा नियुक्तिको विषयमा पनि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग सहयोग मागेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *