काठमाडौं । जुन देशमा पहिले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन हुन्छ, त्यो देशसँग नेपालले सिधै खरिद गर्ने भएको छ । त्यसका लागि सोमबारको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय कमिटी गठन गरेको छ ।
गभर्मेन्ट टु गभर्मेन्ट अर्थात् जी टु जी मोडेलमा नेपालले कोरोनाविरुद्धको भ्याक्सिन खरिद गर्ने भएको छ । यसअघि रसियाले उत्पादन गरेको ‘स्पुतनिक फाइभ’ भ्याक्सिन नेपालले खरिद गर्ने बताइएको थियो । रसियाका राजदूतले नेपाल सरकारका प्रतिनिधिसँग भेट गरी रसियाले सहयोगस्वरूप कोभिडविरुद्धको भ्याक्सिन दिने बचन दिएका थिए । तर, ‘स्पुतनिक फाइभ’ तेस्रो चरणको परीक्षणमै रहेको र विश्व स्वास्थ्य संगठनले मान्यतासमेत नदिएकाले त्यो प्रक्रिया अहिले रोकिएको छ ।
सोमबार मात्र अमेरिकाको फिजर र जर्मनीको बियोनटेक कम्पनीले उत्पादन गरेको भ्याक्सिन कोभिडविरुद्ध ९० प्रतिशत सुरक्षित रहेको घोषणा गरेसँगै विश्वभर खुसियाली छाएको छ ।सोमबारकै मन्त्रिपरिषद्ले विदेशबाट कोभिडविरुद्धको भ्याक्सिन सिधै खरिद गर्ने निर्णय गर्नुलाई सकारात्मक मानिएको छ ।
किनभने यसले सरकार जनताप्रति उत्तरदायित्व छ है भन्ने सन्देश गएको विश्लेषण गर्न थालिएको छ । सरकारी अस्पतालमा कोभिडका विरामीको निःशुल्क उपचार हुनु र सरकारले जुन देशमा पहिले भ्याक्सिन उत्पादन हुन्छ, त्यो देशसँग सिधै खरिद गर्नु सकारात्मक भएको डा.रवीन्द्र पाण्डे बताउँछन् । सरकारको यो निर्णय स्वागतयोग्य भएको उनको भनाइ छ ।




