मुख्य समाचार

नेकपाभित्रको विवाद वारपारको अवस्थामाः कर्णाली प्रदेशमा मन्त्री हेरफेर हुदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने भएपछि नेकपाभित्रको विवाद वारपारको अवस्थामा पुगेको छ । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी गरेपछि यस्तो अवस्थामा पुगेको हो ।

स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर माधव नेपाल समूहका नेताहरुलाई मन्त्री बनाइने भएको छ ।

बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी रहेको स्रोतको दावी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए । स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन । मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु,’उनले फेसबुकमा लेखेका छन् ।

ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए । मूख्यमन्त्री शाहीले आजै मन्त्रिमण्डल विस्तार गरेपछि नेकपमा ओली पक्ष संकटमा परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *