काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा जान्न ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आज शुक्रबारदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालिमपश्चात टोलीलाई आज प्रदेश खटाइएको हो ।
महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको बताए । अध्ययनबाट नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उनले जानकारी दिए ।
एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिनेछ । टोलीले सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालिमपश्चात आइतबारबाट रगतको नमूना सङ्कलन गर्नेछ । नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ ।
गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खासखास ठाउँमा (क्लस्टर) मा सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
“नेपालमा अहिले केही जिल्लाका खासखास ठाउँमा (क्लस्टरं)मा सङ्क्रमण फैलिएको छ”, उनले भने, “अब समुदायको कुन तहसम्म फैलिएको छ भन्ने त अध्ययनबाट थाहा हुन्छ ।” गत माघ १० गते नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको थियो ।




