काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
उनले दाङको पहरुवा भन्ने स्थानका मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाएका थिए । रैदासकी श्रीमतीलाई फोन गरेर दुर्गाबहादुर श्रेष्ठको नाममा हिमालयन बैंक लिमिटेडको खातामा ६० हजार रिंगेट जम्मा गर्न भनेका थिए ।
पटकपटक गरी उनले १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेपछि श्रेष्ठलाई अपहरण मुक्त गरेको ब्युरोका डीआईजी सहकुल थापाले जानकारी दिए । श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको बताइएको छ ।
श्रेष्ठले मलेसियामा गएका नेपाली कामदारलाई धम्क्याई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी समेत गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । मध्म रैदासलाई जस्तै अन्य घटनामा पनि संलग्न पाइएपछि श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।




