काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन थालेको छ । संयुक्त राष्ट्र संघ (यूएन) मिसनको कंगोमा शुक्रबार राति भएको घटनालाई लिएर अनुसन्धान गर्न मिसनमै रहेका सिनियर मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको सैनिक मूख्यालयले जनाएको छ ।
मिसनमा खटिएका तीन जना क्याप्टेनले सैनिक जवानहरुलाई दुव्र्यवहार गरेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सेनाले त्यसको सत्य तथ्य पत्ता लगाउनको लागि अनुसन्धान थालेको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले अनुसार घटनाको विषयमा जानकारी पाउने बित्तिकै शान्ति सेना निर्देशनालयमार्फत अनुसन्धानको काम अघि बढाइएको बताए ।
तीजना क्याप्टेन (सहसेनानी) इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले जवान नवराज माझीलाई निर्घात रुपमा कुटपिट गरेको स्रोतको दावी छ । सैनिक जवानले मदिरा सेवन गरी मर्यादा नाघेको कारण उनलाई कुटपीट गरिएको भने पनि अहिलेसम्म यथार्थ जानकारी नभएकाले छानवीन समिति बनाएको जंगी अड्डाले जनाएको छ । ज्वाला गणबाट खटिएका ती सैनिकको शरीरमा गहिरो नीलडाम देखिएको छ ।




