काठमाडौं। सत्तारुढ दल नेकपाका स्थानीय नेताले संरक्षित क्षेत्रको वन उजाड पारेका छन । बन्दाबन्दीको समयमा संखुवासभाको तिनजुरे, मिल्के, जलजले क्षेत्रमा पर्ने राष्ट्रिय संरक्षित क्षेत्रको वन नेकपाका स्थानीय नेताको संलग्नतामा उजाड बनाइएको हो । संरक्षित क्षेत्रका सयौं चाँपका रुख काटेर ५० हजार क्युफिटभन्दा बढी काठ तस्करी गरेका छन । मादी नगरपालिको वडा नम्बर २ र ९ काे सीमनामा पर्ने मादी २ काे सानाे ओइराङकाे टीएमजे क्षेत्रमा रुख कटान गरी उनीहरुले काठ तस्करी गरेको रहस्य खुलेको छ ।
सत्ता र शक्तिको आडमा नेकपाका स्थानीय कार्यकर्ता द्रव्यमोहको भोक मेट्न काठ तस्करीमा लागेका छन । काठ तस्करीमा आरोपित शशी कुमार लिङ्थेप र कृष्ण भनिने रविन कुमार ल्हो तामाङ र नारायण कडुवाल फरार छन । आरोपितहरु एक महिना अघिदेखि फरार रहेपनि अझै प्रहरीले फेला पार्न सकेको छैन । सत्ताको छायाँमा उपल्लो निकायकसंगको सेटिङमा वन फडानी गरेर काठ तस्करी गरिएकाले आरोपितहरुलाई प्रहरीले पक्राउ नगरेको आरोप छ ।
तस्करीमा संलग्न शशीकुमार लिङ्थेप नेकपाको मादी नगर कमिटिका सह–इन्चार्ज हुन । कृष्ण भनिने रिवन कुमार ल्हो तामाङ स्थानीय तह निर्वाचनमा तत्कालिन माओवादीका तर्फबाट मादी नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा चुनाव लडेका थिए । उनी मादी नगरपालिका वन महासंघका अध्यक्ष समेत हुन । नगर क्षेत्रभित्रको वनको संरक्षण गर्ने व्यक्तिनै तस्करीमा संलग्न हुदा महासंघको समेत वद्नाम भएको छ ।
तस्करी गरीएको काठ नारायण कडुवालकोमा राखिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले बरामद गरेको थियो । उनीहरुले मादी नगरपालिकाको वडा नम्बर २ सानो ओइराङमा कडुवालको घरमा तस्करीका काठ लुकाई राखेका थिए । प्रहरीले ४ सय ३२ क्युफिट काठ बरामद गरेको थियो ।
तस्करहरुले आराले रुख कटान गरी काठ तस्करी गरेका थिए । उनीहरुले तस्करी लुकाउन कटान गरेका रुखका ठूटा पत्कर र माटोले छोपेका छन ।




