देश

ओलीसँग मिलेर प्रचण्डले माधव नेपालसमूहलाई धोका दिएको शंका

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधव नेपाल समूहलाई धोका दिएका छन् । पार्टीभित्रको विवादको जड एक व्यक्ति एक जिम्मेवारीको विषयलाई स्थायी कमिटीको बैठकमा छलफलकै विषय नबनाएर धोका दिएका हुन् । पार्टी अध्यक्षद्वय ओली र दाहालले स्थायी कमिटीमा प्रस्तुत गर्ने सहमतिको खाकासहितको प्रस्तावमा एक व्यक्ति एक जिम्मेवारीको विषय आगामी महाधिवेशनले टुंगो लगाउने भन्दै माधव नेपालले उठाएको विषयलाई छलफलमै राखेका छैनन ।

वरिष्ठ नेता माधवकुमार नेपालले उठाउदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषयमा अन्य सचिवालय सदस्य र स्थायी कमिटी सदस्यहरुबाट स्पष्ट खाका नआएको तर वरिष्ठ नेता नेपालबाट मात्रै यो विषय उठेकाले त्यसलाई आगामी महाधिवेशनबाट टुंगो लगाउने गरी अहिलेलाई छलफलको विषय नै नबनाइएको नेकपा उच्च स्रोतले जानकारी दियो । बुधबार दुई अध्यक्षवीच भएको छलफलपछि शुक्रबार स्थायी कमिटी बैठकमा पेश गर्ने सहमतिको प्रस्तावमा एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कही कतै उल्लेख गरिएको छैन । सो प्रस्तावमा यसअघि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको ६ सदस्यीय कार्यदलले तयारी पारेको सुझाव प्रतिवेदनलाई आधार मानेर पार्टी विधि पद्धतिमा सञ्चालन हुने उल्लेख गरिएको छ । तर व्यक्तिगत जिम्मेवारी हेरफेरको बारेमा केही उल्लेख गरिएको छैन । नेकपाको अन्तरविरोध समाधानका लागि बनेको सुझाव कार्यदलको प्रतिवेदनप्रति वरिष्ठ नेता माधव नेपालले अधिकांश बँुदाहरु सच्याउने आग्रह गरेका थिए । उनले कार्यदलले पेस गरेको प्रतिवेदनप्रति असहमति जनाउदै प्रतिवेदनका अधिकांश बुँदाहरुलाई सच्याउन आग्रह गरेपनि उनको कुरा सुनुवाई नहुने संकेत देखा परेको छ ।

पार्टी विधान धारा ४६ र ६०ले गरेको व्यवस्थाप्रति कार्यदल मौन रहेको र अहिले समस्या पन्छाउने गरी आएको विषयमा अहमति थियो । वरिष्ठ नेता नेपालले एक व्यक्ति एक जिम्मेवारीको विषय, पार्टीको बैठकको निर्णय कार्यान्वयनको सवाल र कसका कारणले पार्टीमा विवाद उत्पन्न भएको हो त्यो विषयलाई अमूर्त ढंगले कार्यदलको प्रतिवेदनमा सुझाव भनेर राखिएको छ जसले गर्दा यो प्रतिवेदन सच्याउनु पर्छ भनेका थिए । ‘प्रतिवदेनका धेरैजसो बुँदाहरु अमूर्त छन्, अपूर्ण छन् पार्टी विधानको धारा ४६ मा उल्लेख गरिएको प्रतिवेदनमा कुनै उल्लेख गरिएको छैन

त्यसलाई सच्याउने कि त्यतिकै छाडिदिने, पार्टीभित्र विधि पद्धति र समस्याको विषयमा कुरा उठाउने नेता कार्यकतालाई शत्रुवत व्यवहार गरिएको छ यो विषय पार्टीभित्र कसरी छलफल गर्ने, कार्यदलको प्रतिवेदमा कार्यकारी अधिकारको कुरा गरिएको छ त्यो अमूर्त भएकाले सच्याउनु पर्ने उनको धारणा थियो । तर तीन दिनयता दुई अध्यक्षबीच भएका छलफलमा वरिष्ठ नेता नेपालले उठाएको विषयमा खास छलफल भएन । बुधबार स्थायी कमिटी सदस्यहलाई शुक्रबार पेश हुने एजेण्डाहरु अध्ययनका लागि पठाउदा पनि महासचिव पौडेल कार्यदलको सुझावलाई आधार मानिएका विषयहरु उल्लेख छन् । माधव नेपाल समूहले भने प्रचण्डले धोका दिएको महशुस गरेका छन् । उनीहरुले ओलीसँग मिलेर प्रचण्डले धोका दिएको महशुस गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *