काठमाडौँ । कोरोनाको संक्रमण बढेपछि निषेधाज्ञाको सातौ दिन काठमाडौ प्रवेशका सबै नाकाहरु सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । कुनै स्थानमा जानका लागि र काठमाडौ प्रवेश गर्नका लागि विहिबार विहानैदेखि सुरक्षाकर्मीहरुले कडा निगरानी शुरु गरेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख श्याम ज्ञावालीले दिएको जानकारी अनुसार विहिबार विहान काठमाडौ प्रवेशका सबै नाकालाई सिलबन्दी गरिएको र अत्यावश्यक सेवा बाहेक कुनै पनि सवारी साधान प्रवेशमा रोक लगाइएको छ । एकैदिन तीन सय जनाभन्दा बढी कोरोना संक्रमित देखिएपछि सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार निषेधाज्ञाको समय एकसाता थप गरी भदौ १७ गते सम्मका लागि निरनतरता दिने निर्णय गरेसँगै विहिबार विहान तीनै जिल्लाका प्रहरीहरु थप सक्रिय भएका हुन् । यससँगै उपत्यका प्रवेश गर्ने नाकाहरुमा प्रहरीले चेकजाँचलाई थप कडाई गरेको छ । उपत्यकाका मुख्य नाकाहरु नागढुङ्गा र साँगा भन्ज्याङ नाकामा प्रहरीले चेकजाँचलाई कडा पारेका छन् ।
नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ । त्यसबाहेक एम्बुलेन्स, निर्माण सामग्री बोकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको छ । अत्यावस्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ । सरकारले पनि अत्यावस्यक कामकाजका लागि आउनेहरुलाई नरोक्ने बताउँदै आएको छ । तर जिल्ला प्रशासन कार्यालयबाट भने कुनैपनि पास वितरणको काम भएको छैन् ।उपत्यका बाहिर जाने सवारी साधन भने खासै देखिएका छैनन् । यस्तै भक्तपुर तर्फको साँगा नाकामा पनि प्रहरीले कडाई गरेको छ ।




