रिबन

नेपाल र भारतीय अधिकारीबीच कुटनीतिक वार्ता हुदै, भारतीय लगानीका आयोजनाबारे छलफल हुने

काठमाडौं। नेपाल र भारतबीच नक्सा मतभेद जारी रहेकै बेला सोमबार नेपालमा भारतीय लगानीका आयोजनाबारे संवाद हुने भएको छ । दुई देशबीच लामो समयपछि कूटनीतिक तहमा वार्ता हुने भएको हो । सोमबार जोयन्ट ओभरसाइड मेकानिज्मको बैठक हुने भएकाे हो। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिब शंकरदास वैरागीले र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले गर्नेछन्।

जोयन्ट ओभरसाइड मेकानिज्म २०१६ मा बनेको संयन्त्र हो। भारतीय लगानीका विकास आयोजनाबारे समीक्षा हुने यो संयन्त्रको बैठक हरेक वर्ष हुने गर्छ। तर, यो पटक भने यो बैठक कोरोना महामारी र नक्सा मतभेदका कारण ढिलाई भएको हो। नेपालले गत वैशाखमा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको थियो। यसअघि भारतले २०१९ मा एकपक्षीय रुपमा नेपाली भूमिसमेटेर नक्सा जारी गरेको थियो।

नेपालले पनि त्यतिबेला विरोध जनाउँदै वार्ताको पहल गरेको थियो। तर, भारतले वार्तामा कुनै चासो नदेखाई उल्टै नेपाली भूमि हुँदै सडक बनाएपछि नेपालले नक्सा जारी गरेको थियो। नेपालले नक्सा जारी गरेपछि भारतले वार्ताको वातावरण विथोलिएको भन्दै वार्तालाई महत्व दिएको थिएन। सोमबार हुने वार्ता नेपालमा भारतीय लगानीका आयोजनाबारेमात्र हुने भए पनि नक्सा मतभेदपछि चिसिएको दुई देशबीचको सम्बन्धलाई सुधार र विश्वासको वातावरण बनाउन यसले सहयोग पुग्ने विश्लेषकहरु बताउँछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *