ताजा समाचार

तीन शीर्ष नेताको असन्तुष्टिपछि सचिवालय बैठक बोलाउने दाहालको संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले आन्तरिक विवाद समाधानका लागि बनाएको कार्यदलमा तीन शीर्ष नेताहरुले असन्तुष्ट जनाएपछि सचिवालय बैठक बोलाउने कसरत शुरु भएको छ । कार्यदलको वैधतामाथि प्रश्न उठेपछि दाहाले ओलीसँग सल्लाह गरेर कार्यदललाई वैधता दिन सचिवालय बैठक बोलाउने संकत गरेका हुन् । उनले भरसक आइतबार (आजै) सचिवालय बैठक बोलाउन सकिने जनाएको एक सदस्यले बताएका छन् ।

यसैगरी कार्यदल बनेसँगै ओलीले वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुलाई आफ्ना गुटको बराबरी हैसियतमा जिम्मेवारी दिने प्रस्ताव गरेका छन् । नेकपाको आन्तरिक विवाद सुल्झाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेकै दिन ओली समूहका केही नेताहरुले प्रधानमन्त्री ओलीको सो प्रस्ताव रहेको नेपाल समूहका नेताले बताएका छन् । माधव नेपाल समूहका नेताहरुसँग निरन्तर सम्पर्कमा रहेका ओली समूहका नेताले शुक्रबार साँझ यस्तो प्रस्ताव सुनाएका थिए । ‘यो अत्यन्त गोप्य ढंगले आएको प्रस्ताव हो ओलीले पूर्व एमालेहरुलाई एक ठाउँ उम्भाउने भन्दै यस्तो प्रस्ताव गरेका हुन्’, स्रोतले भन्यो । तर यो प्रस्ताव कुन तहका नेताबाट आएको हो भन्नेबारेमा ती नेताले खुलाएका छैनन । यसअघि पनि पूर्व एमालेहरु मिल्नुपर्छ भन्दै इश्वर पोखरेल लगायतका टोली कोटेश्वर पुगेका थिए । त्यहा पोखरेल लगायतका नेताहरुले माधव नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डेसँग वार्ता पनि गरेका थिए । त्यतिबेला नेपाल समूहले लिखित प्रस्ताव लिएर आउन आग्रह गरेपछि पोखरेलहरु हच्केका थिए ।

लामो समयदेखि जारी रहेको सत्तारुढ दल नेकपाभित्रको विवाद कार्यदल बनेसँगै समाधान उम्मुख भएको छ । दुई अध्यक्षबीच विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरेसँगै कार्यदलको बैधानिकतामाथि तीन शीर्ष नेतालेप्रश्न उठाएका छन् । तीन शीर्ष नेताहरुले कार्यदलाथि प्रश्न उठाएपछि अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउने संकेत गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार भएको दुई अध्यक्षका बीचको छलफलमा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले शनिवारदेखि काम शुरु गरेको छ ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको सो समितिमा पूर्व माओवादीको तर्फबाट जनार्दन शर्मा र पम्फा भूषाल रहेका छन् भने शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल पूर्व एमालेका तर्फबाट रहेका छन् । उनीहरुले शनिवारबाट काम थालेका हुन् । आन्तरिक रुपमा विवाद उत्पन्न भएपछि असार १०मा शुरु भएको नेकपाको स्थायी कमिटी बैठक समेत असार १८ पछि बस्न सकेको छैन । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग भएपछि असार १८ पछि बैठक स्थगित हुँदा संवाद हिनताको समस्या बढ्दै गएको थियो । दुई अध्यक्षबीच धेरै पटक छलफल भएपनि त्यसले निकास दिन सकेका थिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *