काठमाडौं । सिंहदरबारभित्र कार्यरत सहयोगी र सफाइ कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । नियमित सरसफाइदेखि चिया खाजाको व्यवस्थापन गर्दै आएका सहयोगी कर्मचारीको सुरक्षा सतर्कताबारे उपल्लो तहका कर्मचारीले नजर अन्दाज गरेपछि उनीहरु उच्च जोखिममा परेका हुन् ।
हरेक दिन बिहान एउटै सफाइ सामाग्रीले प्रत्येक शाखा तथा महाशाखा प्रमुखदेखि कार्यालयका टेबुल कुर्सी सफा गर्दा आफूलाई सङ्क्रमण हुनसक्ने मात्रै होइन, अर्को कर्मचारी लाईसमेत सार्न सक्ने सम्भावना उच्च देखिएको छ ।
‘कार्यालय सहयोगीले एउटै रुमालले सबै कर्मचारीको टेबुल सफा गर्छन्’ एक कर्मचारीले भने, ‘यदि कुनै एकजना कर्मचारीलाई मात्रै कोरोना भएको रहेछ भने त्यो कर्मचारीको टेबुल सफा गरेको रुमालले अरू सबै टेबुल सफा गर्दा सिङ्गो मन्त्रालय नै सङ्क्रमित हुने जोखिम हुन्छ ।’
मुलुकका प्रमुख प्रशासनिक केन्द्र सिँहदरवारले आम नागरिकलाई सङ्क्रमणबाट जोगिन अनेकन् उपाय अपनाउन सुझाई रहँदा आफ्नै निकायमा हुन सक्ने उच्च जोखिमबारे नजर अन्दाज गरिएकोप्रति कसैको ध्यान पुग्न नसकेको उनको भनाई छ ।




