काठमाडौ । काठमाडौ उपत्यका भित्रका स्थानीय तहहरुले अत्यावस्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यका भित्र रहेका नगरपालिका प्रमुखहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । उपत्यका भित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको हो ।
बैठकले सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भए पछि संक्रमण तीब्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । कलकारखाना, उद्योग धन्दाहरु, निर्वाध रुपमा सञ्चालन भइर मजदुरहरुको दैनिक आवत जावत बढेकाले संक्रमणको जोखिम पनि बढेकोले उद्योग तथा कलकारखाना भित्रै क्वारेन्टिनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
-याली, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गर्ने र भिड हुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णयपनि बैठकले गरेको छ । बैठकले तरकारी व्यापारलाई साँझ विहान मात्र सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकल मार्फत गरिने व्यापारलाई भदौं १५ गते सम्मको लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।




