काठमाडौं। सरकारले परराष्ट्र नीति परिवर्तन गर्ने तयारी गरेको छ । सरकारले भारत, चीन र पश्चिमा मुलुकलाई हेर्ने परराष्ट्र नीति परिवर्तन गर्न लागेको हो। परारष्ट्रमन्त्रालयले त्यसको ड्राफ्टसमेत तयार पारेको छ। आज बस्ने मन्त्रिपरिषद बैठकमा उक्त ड्राफ्ट पेश हुने मन्त्रालय स्रोतले जनाएको छ। यही विषयलाई लिएर बिहीबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीतिका विषयमा ६ जना विज्ञसँग छलफल गरेका थिए।
परराष्ट्रमन्त्रालयमा झण्डै तीन घण्टा भएको छलफलमा पूर्व राजदूत ज्ञानचन्द्र आचार्य, दीपकुमार उपाध्याय, महेश मास्के, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, प्राध्यापक, खड्ग केसी तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईसँग मन्त्री ज्ञवालीले छलफल गरेका थिए। छलफलको सुरुवात गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले नेपालको परराष्ट्र नीति परिवर्तन गर्न लागेको र त्यसमा सुझाव दिन आग्रह गरेका थिए। परराष्ट्र स्रोतका अनुसार मन्त्री ज्ञवालीले असंलग्नता र पञ्चशीलको सिद्धान्त बाहेक अन्य नीति सरकारले परिवर्तन गर्न लागेको जानकारी गराएका थिए। मन्त्री ज्ञवालीले विश्व भू–मण्डलीकरणमा चीन आक्रामक रुपमा अगाडि आएको र अब विश्वको नेतृत्व चीनले गर्ने भन्दै सरकारले परराष्ट्र नीति परिवर्तन गर्न खोजेको विषयलाई प्रष्टाउने प्रयास गरेका थिए।
मन्त्री ज्ञवालीले भारतसँगको सम्बन्धमा सुधार आउन नसकेको भन्दै आफूहरुले धेरै प्रयास गर्दासमेत भारतले चासो नदिएको गुनासो गरेका थिए। छलफलमा सहभागी भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले नाकाबन्दीका बेलामा समेत भारतसँग संवाद भइरहेको उल्लेख गर्दै भारतसँग राजनीतिक रुपमा सम्बन्ध स्थापित नहुँदासम्म काम गर्न नसकिने अनुभव सुनाएका थिए। मन्त्री ज्ञवालीले आफूहरुले बारम्बार प्रयास गर्दासमेत भारतले चासो नदिएको बताएपछि उक्त छलफलमा सहभागी विश्लेषक गेजा शर्मा वाग्लेले भारतसँगको सम्बन्धलाई अगाडि बढाउन र कुटनीतिक संवादहीनतालाई अन्त्य गर्न विशेषदूत नियुक्त गरेर संवादहीनता तोड्नु पर्ने प्रस्ताव गरेका थिए। स्रोतका अनुसार उनले भारतसँग तत्काल कुटनीतिक संवाद हुने अवस्था नदेखिएकाले विशेषदूत नियुक्त गरेर भएपनि सम्बन्ध सुधार गर्न सुझाव दिएका थिए, जसमा अन्य सहभागीले पनि सहमति जनाएका थिए। सरकारले भारतलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न लागेको स्रोतले बताएको छ।
पछिल्लो समय भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्शा जारी गरेपछि भारतसँग संवाद हुन सकेको छैन। यस्तो अवस्थामा सरकारले भारतलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्न लागेको हो।उक्त छलफलमा सहभागीहरुले छिमेकी मुलुकसँगको कुटनीतिक सम्बन्धलाई रिसेट भन्दा पनि रिफाइन गरेर कुटनीतिक सन्तुलन कायम गरेर अगाडि जानु पर्ने सुझाव दिएका थिए।




