काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना घटना भएको बताएको छ । कांग्रेसले अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न माग गरेको छ । कोरोना विरुद्धको संघर्षमा व्यापक बढेको चुनौती सामनाका लागि नवीन रणनीति निर्माण गर्न सरकार समक्ष सार्वजनिक अपील गरेको छ ।
पार्टी प्रवक्ता एवं केन्द्रीय सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत विभिन्न माग राखेर राजधानीमै आमरण अनशनमा बसेका युवाको माग सम्बोधन गर्न सरकारसंग सार्वजनिक अपील गरेका छन । अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद भएको शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सरकार स्वयंले अघिल्लो अनशनमा गरेको सम्झौता पालना गर्नु पर्ने कांग्रेसको धारणा छ ।
कोरोना विरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरुवात देखिनै विभिन्न सुझाव र माग अघि सार्दै आएको छ । पर्याप्त स्वास्थ सामग्री ब्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कार्वाही, समुदाय स्तरमा व्यापक पीसिआर परिक्षण, आरडिटी खारेजी, मापदण्ड अनुसार क्वारेन्टाइन ब्यवस्थापन, कोभिड अस्पतालहरु विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक ब्यवस्था, बिदेशमा अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्वार, सिमा नाकामा कडाई, श्रमिक, बेरोजगार र विद्यार्थीलाई राहत लगायतका मागहरू वक्तव्य, प्रत्यक्ष संवाद, संसदमा ध्यानाकर्षण देखि स्वदेश–बिदेशबाट एकसाथ ज्ञापनपत्र मार्फत नेपाली कांग्रेसले निरन्तर सरकार समक्ष प्रस्तुत गरेको छ ।
जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुबै कुरा सरकारले गुमाएको कांग्रेसको ठहर छ ।




