बीबीसी । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७० जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्।
अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ। अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।
राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु “अस्वीकार्य”रहेको बताएका छन्। अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो।
राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन। विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ।
प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्। उनले “खतरनाक गोदाम” बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ।
स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन् । “यस क्षेत्रका सबै भवन ध्वस्त भएका छन्। म अँध्यारोमा सिसा अनि भग्नावशेष हुँदै हिँडिरहेको छु,” एक जना प्रत्यक्षदर्शी समाचार संस्था एएफपीलाई बताए।
विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो। सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।
राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो। ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ।




