ताजा समाचार

नक्कली सुन काण्ड : युनुसका व्यापारिक साझेदार इल्ताफ हुसेन कहाँ छन ?

काठमाडौं । प्रहरीले घटनास्थल परिवर्तन गरी कमलादीबाट बरामद गरेको भनेको १४ किलो नक्कली र आधा किलो सक्कली सुन काण्डमा मुख्य इल्ताफ हुसेनलाई पक्राउ गर्न सकेको छैन । पक्राउ परेकाहरुको बयानबाट पनि मुख्य अभियुक्तको पहिचान खुलिसक्दा समेत प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । मुख्य अभियुक्त बाराका इल्ताफ हुसेन अन्सारी अझै फरार छन् । हुुसेन केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीका व्यापारिक साझेदार हुन् ।

कारगारबाटै सुन तस्करीको सञ्जाल चलाइरहेका अन्सारीलाई प्रहरीले सोधपुछ गरेपनि हुसेनलाई भने पक्राउ गर्न सकेको छैन । मूख्य अभियुक्त पक्राउ गर्न नसकेको प्रहरीले सो काण्डबारे कुनै जानकारी नभएका ट्याक्सी चालकलाई काठमाडौं प्रहरीले मुद्दा समेत चलाएर बहादुरी प्रदर्शन गरेको छ । काठमाडौं प्रहरीले ट्याक्सी चालक भैरहवाका सन्दीप गुरुङलाई संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको हो । नक्कली सुन काण्डका अभियुक्तले भाग्नका लागि राम्रो भाडा दिएर ट्याक्सीलाई प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेको छ । तर, चालकलाई उनीहरु को हुन् र के गर्छन् भन्ने बारेमा जानकारी नभएको परिसरकै एक प्रहरी अधिकारी बताउँछन् । महानगरिय अपराध महाशाखाले नक्कली सुन काण्डमा संलग्न देवान पटेल, विजय पटेल र निलेश पटेल सहित ट्याक्सी चालक गुरुङलाई पूर्वी नवलपरासीबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । तर, गुरुङलाई संलग्न गराइ अनुसन्धानका लागि ७ दिन म्याद थप गरेपछि प्रहरीको अर्को गलत नियत सार्वजनिक भएको छ ।

सुन्धाराबाट अभियुक्तहरुले नै हातमा दिएर प्रहरीले बरामद गरेको नक्कली सुन र हतियार कमलादीबाट बरामद गरेको जनाए पनि मुख्य अभियुक्त, गाडी र चालकलाई भने भगाइएको घटनाक्रमहरुले देखाइरहेको छ । सुनको कमिसनको लोभका कारण गाडी भगाउन कमजोरी भूमिका खेललेका महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहाललाई भने तानेर एकेडेमीमा पुर्याइएको छ । एसएसपी सुशीलकुमार यादव नेतृत्वको छानविन समितिका एक अधिकृतका अनुसार दरबारमार्ग प्रहरी प्रमुख डीएसपी दाहाललाई समेत गलत सूचना दिएर प्रहरी जवान बहादुरसिंह कडायतले सुन्धारामा सुन लिएको पाइएको छ।

घटनास्थल वरपरको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजले यसलाई पुष्टि गरिसकेको छ । घटनामा पक्राउ परेका तीन अभियुक्तले कडायतलाई नक्कली सुन र हतियार दिएका थिए । कडायतकै साथी रहेका कौशल पटेलले सुराकी दिएको भनिएपनि प्रहरीले पटेललाई समेत पक्राउ गर्न सकेको छैन । ट्याक्सी चालक गुरुङलाई थानकोटबाट मनकामना जान भन्दै लिएर गएका अभियुक्तहरुले उनलाई मनकामना पुगेपछि भैरहवा जाने भनेर लगेका थिए । तर, पूर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा प्रहरीले आफ्नो ट्याक्सी नियन्त्रणमा लिएपछि मात्र गुरुङले ति व्यक्तिहरु शंकास्पद भएको चाल पाएका थिए । पक्राउ पर्नेवित्तिकै गुरुङले प्रहरीलाई दिएको बयानमा उनी निर्दोष रहेको खुले पनि उनीमाथि पनि मुद्धा चालाएको छ ।

सुन्धारामा पटेलको समूह प्रहरीलाई साढे १४ किलो चाँदी र आधा किलो सुन दिएर भागेको थियो ।सुन्धाराबाट गायब भएको बा ६ च ५५१९ स्कोर्पियो गाडी दुई दिनपछि नखिपोटमा बरामद भएको थियो । तर, गाडीको स्वरुपमा भने केही परिवर्तन गरिएको खुलेको छ । जसकारण अभियुक्तले नम्बर प्लेट फेरेर अर्कै गाडी नखिपोटमा राखेका हुन् कि भन्ने आशंकामा पनि अनुसन्धान जारी छ । प्रहरीले सुन्धरामा बरामद गरेको नक्कली सुन कमलादीमा बराद गरेको भन्दै झूठो विवरण सार्वजनिक गरेको थियो । प्रहरीले नक्कली सुन बरामद गरेको स्थानलाई पनि नक्कली नै बनाएपछि थप शंका उत्पन्न भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *