देश

कांग्रेसमा किन प्रवेश गरे सुनिलबहादुर थापा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता तथा राजनीतिज्ञ स्वर्गीय सूर्यबहादुर थापा पुत्र सुनिलबहादुर थापा मंगलबारको साइत पारेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनको नेपाली कांग्रेस प्रवेशलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । नेपाली कांग्रेसको पूर्वी क्षेत्र अझ मजबुत हुने बताइरहँदा आखिर उनले राप्रपा किन छाडे भन्ने अनुमान विभिन्न तह र तप्कामा भइरहेको छ ।

मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा थापाले दिएको लिखित अभिव्यक्ति जस्ताको त्यस्तै-

सम्माननीय पार्टी सभापति शेरबहादुर देउवाज्यू
वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिज्यूहरु, महामन्त्रीज्यूहरु, कोषाध्यक्ष, सहमहामन्त्रीजयूहरु, केन्द्रीय सदस्य, भ्रातृ संगठनका सभापति एवम् सदस्यज्यूहरु, पार्टीका साथीहरु, सञ्चारकर्मी मित्रहरु

१. नेपालमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्व गरेको नेपाली जनतालाई रैति र प्रजाबाट मुक्ति दिलाई सम्प्रभु नागरिक तुल्याएको नेपाली कांगे्रसमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको छ ।

२. यो अवसरमा नेपाली कांग्रेसका पार्टीका संस्थापक नेताहरु स्व. विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्यक्ष, महेन्द्रनारायण निधि र सुशिल कोइरालालगायतका संस्थापक नेताहरुका साथै राप्रपाका संस्थापक स्व. सूर्यबहादुर थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँहरुका आदर्श र मार्गदर्शनको अनुकरण गर्ने प्रतिबद्धतासहित कांग्रेसका श्रद्धेय सभापतिज्यू, वरिष्ठ नेताहरुसहित समस्त केन्द्रीय नेतृत्वप्रति आभार व्यक्त गर्दछु ।

३. देशको परिस्थिति भयावह, प्रजातान्त्रिक शक्ति कमजोर, अधिनायकवादी शक्ति मौलाएको अवस्था, नेपाल प्रजातान्त्रिक विश्वबाट टाढिदै र एक्लिैदै गएको, विदेश नीतिमा सन्तुलन गुमेको, लोकतान्त्रिक संस्थाहरु अत्यन्त कमजोर, लोकतन्त्रका आधारभूत स्तम्भहरु कमजोर र धराशायी आर्थिक अवस्था दययिन र सोचनीय बनेको छ ।

४. लोकतन्त्रको मौलिक स्वरुप बचाएर यसलाई सबल राष्ट्रियताको आधार र नेपालीको जीवनशैली तुल्याउन
– पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले भन्नुभएझै संसदवादी कित्ताका लोकतान्त्रिक शक्तिहरु बीच वृहद् एकता र सहकार्य वृहत लोकतान्त्रिक मोर्चाको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने र शक्ति सन्तुलन लोकतन्त्रको संरक्षण, सम्बद्र्धन र संस्थागत विकासको गुरुत्तर दायित्व फेरि पनि नेपाली कांग्रेसको काँधमा आएको
यो दायित्व र भूमिकाको लागि म सहित साथीहरु कांग्रेसमा प्रवेश गरेका हौं ।

५. मेरा पुज्यवुवाज्यू स्व. प्रधानमन्त्री सूर्य बहादुर थापाको धारणा चाहना–राष्ट्रिय राजनीतिमा प्रजातान्त्रिकधार सवल र सशक्तहुनु पर्दछ अनि मात्र सबै खाले अधिनायकवाद परास्त हुन्छन भन्ने उहाँले राप्रपालाई वैकल्पिक प्रजातान्त्रिक शक्ति वनाउन चाहनु भएको तर उहाँको निधन पश्चात् राप्रपाले वैकल्पिक प्रजातान्त्रिक शक्तिको सट्टा बैकल्पिक अधिनायकवादी शक्ति वन्ने बाटो लिएको हुँदा हामीले पार्टी परित्याग गरेका हौं ।

६. यो प्रवेशको सन्दर्भमा धेरैको चासो पनि देखियो र साथै मलाई एउटा पुरानो कथाको याद आयो । करिव १२०० वर्ष अगाडी पर्सियामा पार्सीहरुलाई देश निकाला गर्दाखेरी एउटा जहाज भरी पार्सीहरु गुजरातको सञ्जनमा आउँदा त्यस बखतको गुजरातीहरुले गुजरातमा ठाउँछैन भनी एउटा गिलास भरी दुध जहाजमा पठाइ तिमीहरु फर्केर जाउ भन्ने सन्देश दिएका थिए । तर पार्सीहरुले दुधमा चिनी घोलेर पठाएर हेर हामी तिमीहरुसँग मेलमिलाप गरेर अटाउने ठाउँहुन्छ भनेपछि गुजरातिहरुले पनि उनीहरुहलाई स्वागत गरे तसर्थ आज म र मेरा साथीहरु यहि भावना बोकेर नेपाली कांग्रेसमा प्रवेश गरेका छौं ।

७. म फेरी नेपाली कांग्रेससँग टुटेको नातालाई फेरि जोड्न आएको छु । मलाई थाहा भए सम्म पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्य बहादुर थापा सायद २००८ सालमा विराटनगरको नेपाली कांग्रेसको कोषाध्यक्ष भएको र पछि धनकुटाको प्रथम सभापति भएको सुनेको छु । आज मेरो प्रवेशले त्यो पुरानो टुटेको साइनोलाई जोड्न आएको छु । कतिले बाउले खोलेको पार्टी छोडेर जानु हुन्न भन्ने दवाव पनि दिए र अनेकौं कुराहरु पनि लेखे तर स्वर्गीय सूर्य बहादुर थापाले खोलेको पार्टीले अहिलेको बेला उहाँले अवलम्बन गरेको सिद्धान्त र विचारबाट विचलित हुनुको साथै आर्को बाटो गएकोले पनि हामीले नेपाली कांग्रेस प्रवेश गरेका छौं र राजनीतिक भावनाले नभै यथार्थ र आवश्यकता तथा मागको अनुसार चल्नु पर्दछ ।

८. समष्टिमा हामी स्व. विपी कोइरालाको राष्ट्रिय मेल मिलापको नीति र स्व. सूर्य बहादुर थापाको परिवर्तनलाई आत्मसात् गर्ने विचारको संगममा खडा भएर हामी नेपाली कांग्रेसमा प्रवेश गरेका हौं ।

९. अन्त्यमा देशभरका लोकतान्त्रिक शक्ति तथा लोकतन्त्रमा विश्वास गर्ने राप्रपाका स्थानिय देखि केन्द्रिय तहसम्मका सम्पूर्ण साथीहरुलाई यसै मञ्चबाट नेपाली कांग्रेसमा प्रवेश गर्न हार्दिक आव्हान गर्दछु । धन्यवाद
जय नेपाल ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *