काठमाडौं। सत्तारुढ दल नेकपाभित्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी विवाद कायमै रहेका बेला काठमाडौंस्थित अमेरिकी राजदूत रेण्डी बेरीले आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटेका छन्। कोरोना महामारीबारे छलफल गर्न राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेको अमेरिकी दूतावासले जनाएको छ। राजदूत बेरीले भेटमा कोभिड–१६ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलसँग नेपालले लकडाउन अन्त्य गरेको विषयमा चासो राखेको रक्षामन्त्रालयका प्रवक्ता दलहादुर सुनारले जानकारी दिएका छन्।
छिमेकी मुलुक भारतमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेका बेला नेपालमा भने लकडाउन अन्त्य गरिएको भन्दै महामारीको जोखिमबारे सरकारको तयारीका विषयमा बेरीले चासो राखेको जनाइएको छ। उपप्रधानमन्त्री पोखरेलले पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्या घटिरहेको र स्थिति नियन्त्रणमा रहेको भन्दै राजदूत बेरीलाई आस्वस्थ पार्ने प्रयास गरेको स्रोतले बतायो।आइतबार भएको यो भेट कोरोना महामारीमात्र सिमित नरहेको स्रोतले बताएको छ। अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे पनि कुरा भएको जनाइएको छ।
करिब ५५ अर्ब बराबरको अमेरिकी अनुदान सहयोग सम्बन्धि सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्नुपर्ने भए पनि सत्तारुढ दल नेकपामा यो अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद रहेकाले सो सम्झौता अनुमोदन हुन सकेको छैन। अमेरिकाले यसअघि नै सो सहयोग लिने वा नलिने भन्नेबारे नेपालकै निर्णय अन्तिम हुने र सँधै नेपाललाई यसप्रकारको सहयोग भइरहन्छ भन्ने नहुने बताएको थियो। एमसीसी नेपालले भने सम्झौताको म्याद थप्न अमेरिकी सरकारसँग आग्रह गर्दै पत्रचार गरिसकेको छ । एमसीसी संसदमा पेश हुने अवस्था आएपछि संसदको अधिवेशन हतार हतारमा अन्त्य गरिएको थियाे ।




