ताजा समाचार

राप्रपामा भुईचालो : सुनिल थापासहित ३१ जनाले दिए राजीनामा, कांग्रेस प्रवेशको अन्तिम तयारी

काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ नेताकार्यकर्ताले संयुक्त राजीनामा दिएपछि राप्रपामा भूइचालो गएको छ । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनील, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३० जनाले राजीनामा दिएर उनीहरु नेपाल कांग्रेस प्रवेशको अन्तिम तयारीका रहेका छन्

। नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको भन्दै उनीहरुले राजिनामा दिएका हुन् । थापा निकट स्रोतका अनुसार उनीहरु कांग्रेस प्रवेशको अन्तिम तयारीमा रहेका कारण शनिवारै राजिनामा दिएका हुन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छन् । पार्टी परित्याग गर्ने समूहको नेतृत्वकर्ता महामन्त्री थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

पार्टीमा सहमहामन्त्री रहेका उनी पूर्वउद्योग वाणिज्य मन्त्री हुन् । त्यस्तै अर्का सिन्धुपाल्चोकका नेता विष्णु विक्रम थापा पार्टीको कार्यसम्पादन समितिका सदस्य तथा पूर्व गृहराज्यमन्त्री हुन् । राप्रपाबाट संयुक्त राजीनामा दिनेहरुमा सुनीलबहादुर थापा, विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ र राजकुमार राई छन् । त्यसैगरी डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरीडोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुब थापाले पनि पार्टी परित्याग गरेका छन् ।

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उनीहरुले संयुक्त राजीनामा उल्लेख गरेका छन । राजीनामा पत्रमा भनिएको छ, नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रतिको आमरुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ ।

उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने उल्लेख गर्दै उनीहरुले आजकै मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गरेका छन । राजीनामा दिनेमा सो पार्टीका १२ केन्द्रीय सदस्य छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *