ताजा समाचार

शक्ति सञ्चयमा प्रधानमन्त्री ओली

 काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शक्ति संचयमा लागेका छन् । पटक पटक रोकिदै आएको स्थायी कमिटीको बैठक बस्ने वा स्थगित हुने भन्ने दोधारमै रहेका बेला ओली पक्ष पार्टीभित्र आफू बलियो हुन शक्ति संचयमा लागेको हो । ओलीले सोमबार साँझको नियमित मन्त्रिपरिषद् बैठकपछि आफू निकटका मन्त्रीहरुसँग छुट्टै बैठक गरेको छन्।
बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषदमा रहेका पूर्व एमाले सम्बद्ध मन्त्रीहरु तथा पूर्व माओवादीबाट गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्यमन्त्री लेखराज भट्टसँग मन्त्रिपरिषद बैठक सकिएपछि प्रधानमन्त्री ओलीले छुट्टै छलफल गरेका हुन् । मन्त्रिपरिषद् बैठक सकेर संघीय मामिलामन्त्री हृदेश त्रिपाठी, बनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री बिना मगर, ऊर्जामन्त्री बर्षमान पुन आआफ्नो निवासतिर लागेका थिए भने बादल र भट्ट तथा अन्य पूर्व एमालेसम्बद्ध मन्त्रीलाई ओलीले बोलाएर बेग्लै छलफल गरेको वालुवाटार निकट स्रोतले भन्यो । सत्तारुढ दल नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि विवाद भइरहेको छ। पार्टीको विवादको झल्को सोमबार मन्त्रिपरिषदको बैठकपछि पनि देखिएको हो। केही दिनअघि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आफ्नो कित्ता क्लियर गर्नसमेत भनेका थिए।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमारलगायतका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्। तर, प्रधानमन्त्री ओली भने राजीनामा नदिने अडानमा छन्। सोमबारको मन्त्रिपरिषद बैठकको शुरुमा बोल्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति सरकारका तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले बाढी पहिरोमा परी घाइते भएकाहरुको उपचार सरकारले गर्ने घोषणा समेत गरेको स्रोतले बतयो।
यस्तै गएको चैत ११ देखि जारी लकडाउन विस्तारै खुकुलो बनाउने विषयमा पनि मन्त्रिपरिषद्ले निर्णय गरेको जनाइएको छ। हवाई सेवा भने भदौ १ बाट शुरु गर्ने निर्णय भएको छ। प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग छलफल गरिरहेका बेला खुमलटारमा पनि केही नेताहरुबीच गोप्य भेटघाट भैरहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *