ताजा समाचार

कहाँ छ प्रचण्ड र ओलीको रिमोट कन्ट्रोल ?

काठमाडौं । एक अर्कालाई निस्तेज पार्ने अभियानमा रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का दुवै पक्ष यतिबेला पर्ख र हेर को अवस्थामा छन् । अब के हुन्छ ? यसै भन्न सकिने अवस्था छैन । दुवै पक्षको रिमोर्ट कन्ट्रोल बहिर अन्तै भएकोले यसै भन्न सकिने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् ।

झट्ट हेर्दा नेकपा भित्रको यो द्वन्द्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली एकातिर र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल अर्कातिर भएको देखिन्छ । तर वास्तविक अवस्था भने पृथक रहेको नेकपाकै नेताहरुको बुझाई छ । कृषिमन्त्री घनश्याम भुसालले गत साता बसेको स्थायी समितिको बैठकमा दोस्रो विश्वयुद्ध धन्दा अघिको युरोपको घटना सुनाएर नेताहरुलाई सचेत गराएका थिए । उनले भने –‘ त्यतिबेला फ्रन्स र जर्मनी बीच ठूलो द्वन्द्व थियो । दुवै देशका शासकहरु आँफूलाई राष्ट्रवादी देखाउन एक अर्को देशको विरोध गर्थे । त्यतिबेला कुनै व्यापारीले देशको नाम खाली राखेर पोष्टर छपाएका थिए । त्यो पोष्टर खरिदका लागि फ्रन्स र जर्मनीले खोसाखोस गर्थे । व्यापारीले आँफुले जति भन्यो त्यति मुल्य पाउँथे । त्यो पोष्टरको खाली ठाउँमा जर्मनीले फ्रान्सको नाम राखेर आफ्नो देशका जनतालाई विक्रि गर्दथ्यो भने फ्रन्सले जर्मर्नीको नाम राखेर आफ्नो देशका जनतालाई विक्रि गर्दथ्र्यो । हरेक घरमा अनिवार्य रुपमा पोष्टर टाँस्नु पर्ने सर्कुलर दुवै देशका शासकहरुले जारी गरेका थिए , हाम्रो पार्टीका नेताहरुको बर्तमान द्वन्द्व यो भन्दा भिन्न छैन ।’

मन्त्री भुसालको यो विश्लेषणप्रति राजनीतिक चेतना भएका प्राय सबै कार्यकर्ताले चासो दिएका छन् । तर द्धन्द्वरत दुई पक्षमध्ये कसलाई कुन शक्ति केन्द्रले बोकेको छ ? भन्ने विषयमा भने अन्यौलता कायमै छ । केही दिन अघि भारतीय गुप्तचर एजेन्सीको टोली काठमाडौं आएर होटर सोल्टी र भिमान्तमा बस्यो । भिमान्तमा रात्री भोज पनि भयो । उक्त भेजमा पूर्वराजा ज्ञानेन्द्र शाहका नातेदार र मधेसीदलका नेता सहभागी भएको समाचार आयो । उक्त समाचारलाई मधेसीदलका नेता लक्ष्मणलाल कर्णले पुष्टि समेत गरे । यता होटल सोल्टीमा नेकपाका अध्यक्ष प्रचण्ड , वरिष्ठ नेता नेपाल र नेता भीम रावल छिरेको समाचार आयो । यो समाचारको पुष्टि भने हुन सकेको थिएन, तर प्रधानमन्त्री ओलीले पुष्टि गरिदिए । मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवशरमा आयोजित सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीले भने –‘ लिम्पियाधुरामा नेपालको अधिकार कायम गराउने लगायत राष्ट्रियताका पक्षमा केही कदम चालेपछि छिमेकी राष्ट्र भारत मलाई हटाउने अभियानमा लागेको छ । भारतीय दूतहरु काठमाडौंका होटल होटलमा बसेर हाम्रै पार्टीका नेताहरु सँग भेटेको समाचार आइरहेका छन् ।’

प्रधानमन्त्री ओलीको यो अभिव्याक्ति सिधै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालप्रति लक्षित थियो, जसले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका थिए । प्रधानमन्त्री ओलीले आँफ्नो सरकार ढाल्न भारत लागिपरेको आरोप लगाएको तेस्रो दिन नेकपाको स्थायी समितिको बैठक बस्यो । बैठकमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले सरकार परिवर्तनका लागि भारत होइन आँफू सक्रिय रहेको दावी गरे । उनीहरु दुवैको भनाई थियो –‘ प्रधानमन्त्रीको गरिमामय कुर्सीमा बसेर छिमेकी मुलुक माथि यस्ता आरोप लगाउन सुहउँदैन , भारतले होइन हामीले गरेका हौं ।’ अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको यो स्पष्टिकरणले आँफू स्तव्ध भएको प्रधानमन्त्री ओलीले बताएका थिए । उनको भनाई थियो –‘ संविधान जारी गरेवापत २०७२ साल ओसजदेखि भारतले नेपाल माथि नाकाबन्दी लगायो , तर नाकावन्दी भन्न हामी धेरै दिन डरायौं , मैले स्पष्ट रुपमा अन्तर्राष्ट्रिय जगत सामु भने । आफ्नो संविधान आँफैले जारी गरेवापत भारतले हामी माथि नाका बन्दी लगायो । तर मेरो त्यो अभिव्याक्ति पछि मधेसीदलका नेताहरु भारतले नाकाबन्दी लगाएको होइन , सीमानामा बसेर हामीले अवरुद्ध गरेका हौं , भन्न थाले ।’
नाका वन्दीका बेला महन्थ ठाकुर, उमेन्द्र यादव राजेन्द्र महतो , शरतसिंह भण्डारीहरु जसरी प्रस्तुत भएका थिए , यतिबेला प्रचण्ड , माधव, भीम रावल , वामदेव गौतम लगायतका नेताहरु त्यसरी नै प्रस्तुत भएको आरोप प्रधानमन्त्री ओली पक्षको छ ।

यता प्रचण्ड पक्षले भने प्रधानमन्त्री ओली अमेरिकी इसारामा अघि बढेको आरोप लगाइ रहेको छ । खासगरी एमसीसी विधेयकको विरुद्धमा प्रचण्ड छन् । पार्टी भित्र आफ्नो पकड बलियो बनाउन प्रचण्डलाई एमसीसी प्रकरण निकै ठुलो मसला बनेको छ । नेकपाको पार्टी पंक्ति भारत र अमेरिका विरोधी छ । जसले अमेरिका र भारतको चर्को विरोध ग¥यो , उही कार्यकर्ताबीच लोकप्रिय हुने अवस्था नेपालका कम्युनिष्ट पार्टीहरुमा छ । त्यसैले प्रधानमन्त्री ओली भारतको विरोधमा उत्रेर लोकप्रिय बन्ने कोसिसमा जुटे जस्तै प्रचण्ड पनि अमेरिकाको विरोधमा उत्रेर लोकप्रिय बन्ने कोसिसमा छन् । २०१७ सालको कु पछि तत्कालिन राजा महेन्द्रले नेपाली कांग्रेस , भारत र अमेरिका प्रति जनताको दिमागमा घृणाको भाव उत्पन्न गराउने शर्तमा कम्युनिष्टहरुलाई गतिविधि गर्न छुट दिएका थिए । यो कुरा नेपालको कम्युनिष्ट आन्दोलनका विषयमा विद्यावारिधी गरेका प्राडा. सुरेन्द्र केसीले आफ्ना आर्टिकल हरुमा उल्लेख गर्ने गरेका छन् ।

यतिबेला ओलीलाई अमेरिकी पिछलग्गु सिद्ध गर्न प्रचण्ड जति कसरतमा जुटेका छने ओली पनि प्रचण्डलाई भारतको पिछलग्गु सावित गर्न त्यो भन्दा बढी कसरतमा जुटेका छन् । पार्टी भित्र आफ्नो पकड बलियो बनाउनका लागि दुवै पक्षका नेताहरुले यो कसरत गरेका हुन् । तर यी दुवै पक्ष छिमेकी मुलुक चीनप्रति भने धेरै नै लोयल छन् । जब,जब नेकपा भित्र द्धन्द बढ्छ, तब तब चीनको मध्यस्थतामा मिल्ने गर्छ । गत फागुन र बैशाखमा पनि ओली सरकार यस्तै संकटमा परेको थियो । यी दुवै पटक चिनयाँ राजदूतको भेटघाट पछि कुरा मिल्यो । यस पटक पनि चिनिया राजदूत याङ्जीले नेकपाका नेताहरुलाई छुट्टा छुट्टै भेटघाट गरिरहेकी छिन् । सहमति गराउन उनी सक्षम रहने आँकलन धेरैको छ । तर प्रधानमन्त्री ओलीका जुन शर्तहरु छन् , ती शर्तहरुमा सहमति गराउने ताकत राजदूत याङ्जीले मात्रै राख्दिनन् , उनले आँफू भन्दा अझ माथि परामर्श गर्नु पर्ने छ ।

प्रधानमन्त्री ओलीका शर्त छन् –‘ बाँकी कार्यकालसम्म सरकार तथा पार्टीको नेतृत्व परिवर्तन नहुने , एमसीसी संझौता कार्यान्वयन गराउने ।’ राजनीतिक विश्लेषकहरु भन्छन् –‘यदी चीन एमसीसीको विरोधमा छैन भने ओली सरकारले निरन्तरता पाउने आँकलन गरिएको छ । तर एमसीसी कुनै पनि हालतमा पारित नहोस् भन्ने अभियानमा चीन हो भने ओली सरकारको आयु अब धेरै छैन ।’ तर ओलीले पार्टी विभाजन गरेरै भएपनि कांग्रेससँग मिलेर एमसीसी विधेयक पारित गराएरै छाड्ने अडान लिएका छन् । कांग्र्रेसको सहयोगमा एमसीसी पारित गर्ने सामाथ्र्य ओलीले राख्ने संकेत देखिएको अवस्थामा नेकपा प्रतिको चीनको दृष्टिकोण को होला ? भन्ने प्रश्नको जवाफ भने अनुत्तरित नै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *