काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग छलफल गरेपछि त्यसका विरुद्ध काउण्टर दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता मावधकुमार नेपालले झम्सीखेलमा छुट्टै भेला गरेका छन् ।
पाँच जनाले मात्र बोलेर बैठक स्थगित भएपछि आन्तरिक छलफल गरेका दाहाल–नेपाल समूले झम्सीखेलको एक रेष्टुरेन्टमा भेला भएर बिहीबार बस्ने बैठकको रणनीतिबारे छलफल गरेका हुन् । भेलामा लामो समयदेखि अध्यक्ष ओलीसँग रहेका गृहमन्त्री रामबहादुर थापा बादलसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए ।
दाहाल नेपाल समूह ओलीलाई जसरी पनि प्रधानमन्त्री पदबाट राजीनामा गराउने तयारीका साथ अघि बढेका छन्। तर ओली भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडानमा रहेको उनीनिकट नेताहरु बताउँछन्।
मंगलबार स्थायी समिति बैठकमा बोल्ने १८ मध्ये १७ र बुधबार पाँचमध्ये चार जनाले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए। ४५ सदस्यीय स्थायी समितिमा दाहाल नेपाल मिल्दा ओली अल्पमतमा पर्छन् ।




