ताजा समाचार

कोरोना भाइरसको कारण नेकपाका आन्तरिक भेला प्रशिक्षण कार्यक्रम स्थगित

काठमाडौं । नेकपाका आन्तरिक भेला प्रशिक्षण र कैठकहरु स्थगित गरिएका छन । सोही कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूर्व जाने कार्यक्रम स्थगित भएको छ । गृहमन्त्री रामवहादुर थापा पनि पूर्व जान एयरपोर्ट पुगेपनि बीच बाटोबाटै फर्केका छन् । नेकपाको झापा विर्तामोडमा आज पार्टीको प्रदेश स्तरिय भेला प्रशिक्षण कार्यक्रम थियो।

कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल जाने कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा आएर सरकारले कोरेना भाइरसको सम्भावित जोखिमबाट टाढा रहनका लागि ठूला सभा / सम्मेलन नगर्न गरेको आग्रह लाई मध्यनजर गरेर नेकपाले आन्तरिक भेला प्रशिक्षण रोक्ने निर्णय लिएको हो ।

भेलाका लागि वरिष्ठ नेता खनाल भने हिजो नै झापा पुगिसकेका थिए ।  तर आज बिहान उक्त कार्यक्रम रोक्न केन्द्रले निर्देशन दिएको प्रदेश १ का इन्चार्ज तथा स्थायी समिति सदस्य भीम आचार्यले जानकारी दिए । विर्तामोडको सीटी सेन्टरमा प्रशिक्षण कार्यक्रम तय गरिएको थियो । तर बिहान मात्रै नेताहरुले कार्यक्रम हाललाई स्थगित गर्न प्रदेश पदाधिकारीलाई निर्देशन गरेका हुन् ।

आज प्रशिक्षण कार्यक्रम गर्ने र भोलि सुखानी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ नेकपा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सम्वोधन गर्ने गरी कार्यक्रम तय गरिएको थियो । उक्त कार्यक्रम पनि अब स्थगित भएको छ । सुखानी शहीद स्मृति दिवसका दिन कोही नेताहरुले सामान्य रुपमा शहीद प्रति श्रद्धान्जली दिन पुगेपनि सभाको कार्यक्रम भने रोकिएको इन्चार्ज आचार्यले जानकारी दिए ।नेकपाले यस अगाडी कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, ५ नम्वर प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा पार्टी प्रशिक्षण तथा राजनीतिक भेलाको आयोजना गरिसकेको थियो । प्रदेश १ मा र २ मा मात्र बाँकी थियो । यो हाललाई स्थगित भएको नेकपाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *