ताजा समाचार

नेकपा बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको छ ।बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको हो । शनिबार बसेको बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहका निष्कर्ष रिपोर्टिङ गर्दै भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको बताएका थिए ।

समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग उठेको जनाए । अहिले मृत्युदण्ड दिने कानुन नभएपनि सरकारले अब सो कानुन बनाउनु पर्नेमा आवाज उठेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपमा पनि पार्टीले छानविन गर्नुपर्ने माग बैठकमा उठेको छ । समूह नम्बर १५ का टोलीनेता हिमाल शर्माले छलफलमा महरा प्रकरणमा पार्टीले गहन छानविन गर्नुपर्ने माग गरेका थिए ।

समूह नम्बर १० मा बालुवाटार जग्गा प्रकरण, एनसेल लाभकर, यती होर्डिङ्स जग्गा विवादबारे पार्टीको दृष्टिकोण प्रष्ट हुनुपर्ने माग उठेको थियो । पूर्णकुमारी सुवेदी नेतृत्वको समूह नम्बर ७ ले यति होल्डिङ्स, बालुवाटार जग्गा अनियमितता प्रकरणमा उच्चस्तरीय छानविन टोली गठन माग गरेको थियो । समूहगत छलफलमा केन्द्रीय सदस्य धर्मशीला चापागाईंले सार्वजनिक पदमा पुग्ने जोसूकै पनि भ्रष्टाचारमा उद्यत हुन थालेको भन्दै भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *