काठमाडौँ।प्रहरीमा एक डिआइजी, ८ एसएसपी र १४ एसपीको दरबन्दी रिक्त भएको छ । डिआइजी महेशविक्रम शाह ३० वर्षे सेवा अवधिका कारण गत हप्ता अवकाश भएपछि एक डिआइजीको पद रिक्त भएको हो ।
मोतिलाल बोहराका पालामा महेशविक्रम शाह व्याइजमा जागिर खाएका रहेछन् । त्यसपछि उनी प्रशासनतर्फ प्रतिस्पर्धामा आएका कारण आफ्ना व्याजीहरूभन्दा एक महिना अगाडि उनी अवकाश भएका हुन् । वर्तमान आइजिपी सर्वेन्द्र खनालहरूभन्दा उनी एक महिना अगाडि अवकाश हुनुको पछाडि उनी व्याइजमा जागिर खाएको कारणले हो । उनको अवकाशसँगै एक डिआइजी रिक्त भएको हो भने बाँकी ८ एसएसपी र १४ एसपी रिक्त छन् ।
सर्वोच्च अदालतले प्रहरीभित्र लामो समयसम्म पद रिक्त राख्न नहुने नजिर बनाइसकेको छ भने प्रहरी नियमावलीमा समेत पद रिक्त भएपछि ३ महिनाभित्रमा पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यसैले पनि पदहरू रिक्त हुनु र समयमा नै बढुवा नहुँदा माथि जाने अफिसरलाई बाधा पर्दै आएको छ । आगामी माघ २८ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उनको २२ जनाको समूह ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदैछन् ।
प्रहरी महानिरीक्षक खनाल आफू अवकाश हुनुपूर्व प्रहरीका रिक्त पदहरूमा पदपूर्ति गर्न चाहन्छन् तर, गृहसचिव प्रेमकुमार राई र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत अवकाशका मुखमा रहेका आइजिपी खनालले बढुवामा चलखेल गर्न सक्ने भन्दै बढुवा नगर्न निर्देशन दिएकै कारण प्रहरीको बढुवा रोकिएको बताइएको छ ।




