काठमाडौं।सत्तारुढ दलभित्र सभामुख चयन पेचिलो बन्दै गएको बेला उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेका छिन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकलम दाहाल प्रचण्डसँग भेटगरेपछि राजीनाको तयारी गरेकी हुन ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर दुई अध्यक्षसँग ३० मिनेटको छलफल गरेकी थिइन् । सभामुखमा दाबी गर्दै आएकी तुम्बाहाङ्फेलाई दुई अध्यक्षसँग आफुलाई सभामुख बनाउन माग गरेकी छिन् । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनको मिति पर सरिरहेको गुनासो गर्दै तुम्बाहाङ्फेले सभामुखको टुंगो चाँडै लगाउन दुई अध्यक्षसँग आग्रह गरेकी थिइन् ।
गत असोज १२ गते संसद सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कार प्रयास अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा अझै पनि आन्तरिक विवाद छ । सभामुखका लागि ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सारेपछि विवाद चर्केको हो । तुम्बाहाङ्फेको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी देखिएका छन् ।
गत पुस ४ गते प्रतिनिधिसभाको हिउँदे अधिवेशनको सुरुवात उपसभामुख तुम्बाहाङ्फेले नै गरेकी थिइन् । त्यसपछि पुस ९ गते भनिएको प्रतिनिधिसभा पुस १७ हुँदै २७ गतेसम्मका लागि स्थगित भएको छ ।




