लुम्बिनी प्रदेश

अर्थमन्त्रीको संसदीय निर्वाचन क्षेत्रको बजेट सबै स्वास्थ्य क्षेत्रमा विनियोजित

काठमाडौँ । अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं.२ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएका छन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक निर्वाचन क्षेत्र नं.२, रुपन्देहीका संयोजक अर्थमन्त्री पौडेलको संयोजकत्वमा बसेको बैठकले योजना तथा कार्यक्रमहरु छनौट गरेको हो ।

जस अन्तर्गत शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवं सुदृढीकरण कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं.२ रुपन्देहीका लागि रु. १ करोड र पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम सैनामैना नगरपालिका वडा नं. १ रुपन्देहीका लागि रु.१ करोड विनियोजन गरिएको छ ।

यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सञ्चालन, बुटवल उपमहानगरपालिका वडा नं. ९ रुपन्देहीका लागि रु. ५० लाख र शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यक्रम, बुटवल उपमहानगरपालिका वडा नं. १२ रुपन्देहीका लागि रु.१ करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ ।

पौडेलका स्वकीय सचिव यम पाण्डेका अनुसार स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गत वर्षको सबै रकम शिक्षा क्षेत्रमा विनियोजन गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *