प्रदेश

गाई गोरु काट्न नपाइने व्यवस्था हटाउन माग

काठमाडौं । खोटाङका सत्तारुढ गठबन्धनले मुलुकी अपराध संहिता २०७४ को धारा २८९ खारेजीको माग गर्ने निर्णय गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजादी पार्टीले मुलुकी अपराध संहिताको धारा २८९ मा उल्लेखित ‘गाई गोरु मार्न वा कुट्न नहुने’ व्यवस्था खारेजीका लागि पहल गर्ने निर्णय गरेका हुन्।

२६ माघमा बसेको सत्तारुढ गठबन्धनको बैठकले आदिवासी जनजाति समुदायलाई दुःख दिने, मुद्दा लगाउने कार्य हुन नदिन संविधानसँग बाझिएको मुलुकी अपराध संहिताको धारा खारेजीका लागि नेपाल सरकारसमक्ष माग गर्ने र सोको लागि गठबन्धनमा आवद्ध दलले आ–आफ्नो पार्टीका केन्द्रीय समितिलाई आवश्यक पहलका लागि अनुरोध गर्ने निर्णय गरिएको बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

गोरु काटेर मासु बिक्री गर्दै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ २३ माघमा पक्राउ परेपछि गठबन्धनको यस्तो धारणा सार्वजनिक भएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *