राजनीति

टिकटकर अजय श्रेष्ठलाई उम्मेदवार बनाएपछि रास्वपा कार्यालयमै कुटाकुट, असन्तुष्टि चुलिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुपाल्चोक–२ मा टिकटकर अजय श्रेष्ठलाई उम्मेदवार बनाएपछि पार्टीभित्र गम्भीर विवाद सतहमा आएको छ। टिकट घोषणालगत्तै केन्द्रीय कार्यालयमै कार्यकर्ताबीच हात हालाहालको स्थिति सिर्जना भएको घटनाको भिडिओ सार्वजनिक भएपछि रास्वपाको आन्तरिक अवस्था प्रश्नको घेरामा परेको छ।

घटना अस्ति केन्द्रीय कार्यालयमा भएको हो। सिन्धुपाल्चोक–२ का कार्यकर्ता र नेताहरू श्रेष्ठलाई उम्मेदवार बनाइएको निर्णयप्रति आक्रोशित बनेपछि विवाद चर्किएको हो। सार्वजनिक भिडिओमा कार्यकर्ताहरूबीच चर्को वादविवादपछि हात हालाहालसमेत भएको स्पष्ट देखिन्छ।

सिन्धुपाल्चोक–२ का बासिन्दा तथा रास्वपाका बाग्मती प्रदेश सदस्य नीरबहादुर पाख्रिनले श्रेष्ठलाई टिकट दिइएकोमा कडा आपत्ति जनाएका थिए। पाख्रिनका अनुसार अजय श्रेष्ठ सिन्धुपाल्चोक–१ का स्थायी बासिन्दा हुन् र उनले त्यही क्षेत्रबाट उम्मेदवारीका लागि निवेदन दिएका थिए। “१ नम्बरबाट निवेदन दिएको व्यक्तिलाई २ नम्बरमा कसरी टिकट दिन मिल्छ ? नियम र कानून के भन्छ ?” भन्दै उनले प्रश्न उठाएका थिए।

त्यसको जवाफमा श्रेष्ठले “तपाईंहरूको कुरा माथि गएर भन्नु, हामी व्यक्तिको कुरा सुन्दैनौं” भन्ने अभिव्यक्ति दिएका थिए। श्रेष्ठ पक्षबाट एक जनाले उनलाई पनि आकांक्षी भएको दाबी गरेपछि विवाद झन चर्किएको थियो। पाख्रिनले त्यसप्रति आपत्ति जनाउँदै “आकांक्षी हुनु अलग कुरा हो, तर नियमविपरीत उम्मेदवार बन्न पाइँदैन” भन्दै आक्रोश व्यक्त गरेका थिए।

बहस चर्कँदै जाँदा श्रेष्ठले ‘१०० मा फोन गर्नुस्’ भनेको सुनिए पनि प्रहरी बोलाइएन। त्यसै क्रममा पाख्रिनले श्रेष्ठ पक्षधरमाथि हात हालेपछि स्थिति झडपको रूप लिएको थियो। केही समयपछि स्वयं श्रेष्ठले छुट्याउन खोजेपछि अवस्था नियन्त्रणमा आएको बताइएको छ।

यही टिकट वितरणको विवादले सिन्धुपाल्चोकमा रास्वपाको संगठनात्मक संकटलाई झनै उजागर गरेको छ। मेलम्ची नगर समिति सभापति गोकुलप्रसाद ढकालले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्। पार्टी स्थापनाकालदेखि सक्रिय रहेका ढकालले रास्वपा नै छाडेका हुन्।

राजीनामा विज्ञप्तिमा ढकालले पार्टीभित्र पछिल्लो समय “विधि, नीति र निष्ठालाई तिलाञ्जली दिँदै गलत प्रवृत्ति र पात्रलाई प्राथमिकता दिन थालिएको” आरोप लगाएका छन्। उम्मेदवार छनोट प्रक्रियामा भएका गलत अभ्यासले पार्टीको मूल मर्ममाथि चोट पुगेको उनको भनाइ छ।

उनले जिल्ला समितिले केन्द्रलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुधार नभएको उल्लेख गर्दै पार्टी स्वार्थी र अवसरवादीहरूको कब्जामा पर्दै गएको चेतावनी दिएका छन्। “पालिका र जिल्ला समितिले नियमअनुसार गरेका निर्णयलाई केन्द्रीय नेतृत्वले निरन्तर बेवास्ता गरिरहे संगठन कसरी टिक्छ रु” भन्ने प्रश्न पनि उनले उठाएका छन्।

केन्द्रीय नेतृत्वले दिएका आश्वासन कार्यान्वयन नहुनु र विवादास्पद पात्रहरूलाई बोकेर अघि बढ्ने प्रवृत्तिले रास्वपाभित्र गहिरो असन्तोष बढ्दै गएको संकेत यो घटनाले दिएको छ। ‘विधि र सुशासन’ को नारा बोकेर उदाएको पार्टीभित्रै नियम र निर्णयलाई लिएर कुटाकुटको अवस्था आउनु रास्वपाको आन्तरिक लोकतन्त्र र संगठनात्मक भविष्यका लागि गम्भीर संकेतका रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *