मुख्य समाचार

गगन र विश्वलाई अब आफ्नै निर्णय भारी बन्ने

काठमाडौं । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण प्रक्रिया नै टुंग्याउन नसकेको अवस्थामा गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले भेला र समानान्तर गतिविधि अघि बढाउनु थप विवादको कारण बन्दै गएको छ। पार्टी विधानअनुसार क्रियाशील सदस्यतामै आधारित रहेर संगठन सुदृढ गर्नुपर्ने दायित्व पूरा नगरी भेला केन्द्रित राजनीति गर्न खोजिएको भन्दै उक्त समूहको रणनीति अहिले प्रश्नको घेरामा परेको छ।

क्रियाशील सदस्यता पार्टीको आधारभूत संरचना मानिन्छ। यही सदस्यतामार्फत वडा, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्मको प्रतिनिधित्व सुनिश्चित हुन्छ। तर लामो समयदेखि सदस्यता वितरण र नवीकरण प्रक्रिया अल्झिँदा संगठनात्मक वैधता कमजोर बन्दै गएको देखिन्छ। यस्तो अवस्थामा व्यापक भेला आयोजना गरेर राजनीतिक दबाब सिर्जना गर्ने प्रयास व्यवहारिक र विधिसम्मत नभएको टिप्पणी पार्टीभित्रै हुन थालेको छ।

पार्टी संस्थापन पक्षले विधान र प्रक्रिया अघि बढाउन जोड दिइरहेका बेला गगन–विश्व समूह भने सदस्यता व्यवस्थापनभन्दा प्रचारमुखी भेलामा केन्द्रित भएको आरोप खेपिरहेको छ। सदस्यता अद्यावधिक नगरी गरिएको भेला न त प्रतिनिधिमूलक हुन्छ, न त त्यसबाट निस्कने निर्णयलाई संस्थागत मान्यता दिन सकिने अवस्था रहन्छ।

विश्लेषकहरूका अनुसार संगठनको जरा बलियो नबनाई माथिल्लो तहमा शक्ति प्रदर्शन गर्न खोज्दा दीर्घकालीन राजनीतिक प्रभाव उल्टो पर्न सक्छ। सदस्यता वितरण र नवीकरणमा स्पष्ट योजना र कार्यान्वयन नआएसम्म गगन–विश्व समूहका लागि पार्टीभित्र वैधानिक समर्थन विस्तार गर्नु झन् कठिन बन्दै जाने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *