काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजन स्वाभाविक राजनीतिक प्रक्रियाबाट नभई सत्तारूढ शक्तिको योजनाबद्ध हस्तक्षेपबाट भएको आरोप लगाएका छन्। एमाले र कांग्रेस दुवैलाई एकैचोटि कमजोर बनाउने उद्देश्यसहित ‘ग्राण्ड डिजाइन’ कार्यान्वयन गरिएको उनको दाबी छ।
सचिव बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको नाम लिँदै सत्ता पक्षले दलभित्र अविश्वास र भ्रम फैलाउने रणनीति अपनाएको बताए। “केपी ओलीको अनुहार लिएर चुनाव जित्न सकिँदैन भन्ने सन्देश जानाजानी फैलाइयो,” उनले भने, “यसका लागि आफ्नै पार्टीका केही नेताहरूलाई अगाडि सारियो।”
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सिर्जना गरिएको नकारात्मक भाष्य योजनाबद्ध रहेको दाबी गर्दै त्यसमा कांग्रेसका केही नेताहरूको भूमिका समेत रहेको संकेत गरे। “महाधिवेशन सफल भएपछि एमालेभित्र निरंकुशता छ, दासहरूको पार्टी हो भन्ने कथन अचानक सार्वजनिक भयो,” बस्नेतले भने, “त्यही स्क्रिप्ट गगन थापाबाट दोहोरियो, जसले यो अभियानको चरित्र उजागर गर्छ।”
बस्नेतका अनुसार समकालीन नेपाली राजनीति ओली केन्द्रित भएकाले उनलाई कमजोर पार्ने प्रयास निरन्तर भइरहेको छ। एमाले विभाजनको प्रयास सफल नभएपछि वैकल्पिक लक्ष्यका रूपमा कांग्रेसलाई विभाजित गरिएको उनको निष्कर्ष छ।
“एमाले फुटाउने चाहना असफल भएपछि कांग्रेसलाई तोड्ने रणनीति अपनाइयो,” उनले भने, “मुख्य प्रतिस्पर्धी दल कमजोर हुँदा एमालेका लागि परिस्थिति सहज देखिए पनि हामी यसमा सन्तुष्ट छैनौँ।”
उनले कांग्रेसको विभाजनलाई लोकतन्त्र र राष्ट्रिय एकताका लागि गम्भीर धक्का भन्दै यो घटनालाई सत्ता–प्रेरित षड्यन्त्रको परिणामका रूपमा चित्रण गरे। “यो सामान्य राजनीतिक दुर्घटना होइन,” बस्नेतले भने, “यसले लोकतान्त्रिक आन्दोलनलाई नै कमजोर बनाएको छ।”
बस्नेतको अभिव्यक्तिपछि कांग्रेस विभाजनमा सत्तारूढ पक्षको भूमिकामाथि राजनीतिक वृत्तमा थप बहस चर्किने देखिएको छ।




