काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णयलाई गम्भीर आपत्तिजनक भन्दै तीव्र विरोध जनाएको छ। आन्दोलनले यसलाई शक्ति र पदको दुरुपयोगमार्फत अपराधीलाई उन्मुक्ति दिने प्रयासको संज्ञा दिएको छ।
महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा दर्ता मुद्दामा अभियोग फिर्ता लिन सरकारी वकिललाई स्वीकृति दिएको निर्णयप्रति प्रतिक्रिया जनाउँदै जेनजी मुभमेन्टले कानुनी शासनमाथि नै प्रहार भएको आरोप लगाएको हो।
मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा महान्यायाधिवक्ता सबिता भण्डारीले आफ्नो पदको दुरुपयोग गरेको दाबी गर्दै तत्काल बर्खास्त गर्न माग गरिएको छ। उनले जेनजी आन्दोलन र शहीदहरूको बलिदानबाट स्थापित व्यवस्थाले नै अपराधीलाई संरक्षण गर्नु लोकतन्त्रको मूल्यविपरीत भएको टिप्पणी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “जेनजी विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जामार्फत बनेको सरकार र त्यसकै नेतृत्वमा नियुक्त महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिने कार्यले कानूनको सर्वोच्चता कमजोर पारेको छ।” यस्तो कदमले पीडितको न्याय, लोकतान्त्रिक मूल्य र राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको मुभमेन्टको ठहर छ।
जेनजी मुभमेन्टले कुनै पनि किसिमको कानुनी उन्मुक्ति जेनजी विद्रोहमाथिको धोका र बलिदानीप्रतिको अपमान भएको बताएको छ। “कानून सबैका लागि समान हुनुपर्छ, शक्तिशालीका लागि छुट र पीडितका लागि मौनता स्वीकार्य हुँदैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
आन्दोलनले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता सबिता भण्डारीलाई सार्वजनिक रूपमा बहिष्कार गर्नसमेत आह्वान गरेको छ। जेनजी मुभमेन्टका अनुसार यदि यो निर्णय फिर्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।




